नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, साउन २ गते हुने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक आह्वान गरिएको हो।
पार्टीले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावहरू पेस हुनेछन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन, र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ।
यसैबीच, पार्टीभित्र ७० वर्षे उमेर हद र पदाधिकारीको २ वर्षे कार्यकालबारे विवाद चर्कँदै गएको छ। यी विषयमा पनि सचिवालय र आगामी बैठकहरूमा गहन छलफल हुने अनुमान गरिएको छ।