Butwal Today

राप्ती गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

३२ असार २०८२, बुधबार
अ+
अ-

लमही , ३२ असार ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ लाई बुधबार एक विशेष समारोहका बिच बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। राप्ती गाउँपालिकाको पहिलो वडाको रूपमा अघि सारिएको वडा नं. ८ को घोषणाले सम्पूर्ण पालिकामा बाल अधिकार र संरक्षणप्रति गम्भीर प्रतिबद्धता प्रस्तुत गरेको छ।

घोषणा कार्यक्रम वडा नं. ८ का कार्यवाहक अध्यक्ष सुन्दरबहादुर शाही  अगुवाइमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले ब्यानर पढेर वडा घोषणा गरेका हुन। अध्यक्ष विष्टले बाल अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न राज्यका तर्फबाट गरिने समष्टिगत प्रयास नै बालमैत्री शासन भएको उल्लेख गर्दै पालिकाका अन्य वडाहरू पनि क्रमशः बालमैत्री बनाइने लक्ष्य रहेको जानकारी दिए।

उपाध्यक्ष कमलापति चौधरीले कार्यक्रमलाई ऐतिहासिक उपलब्धि भन्दै यसको दिगोपनाका लागि सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताइन।

बालमैत्री वडा घोषणा समितिका संयोजक तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले बालमैत्री शासन नेपालकै संविधानले प्रत्याभूत गरेको अधिकार भएको भन्दै नीति, योजना र कार्यक्रमहरू बालबालिकालाई केन्द्रमा राखी अगाडि बढाउनु पर्ने धारणा राखे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसीका अनुसार वडामा विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा नाम दर्ता भइसकेका छन्,बालविवाह र बालश्रम शून्य अवस्थामा रहेको छ।त्यसै गरी सबै बालबालिकाले पूर्ण खोप पाएका छन्,पाँच वर्षमुनिका सबैको जन्म दर्ता गराइएको पनि उनले  बताइन। बालमैत्री पूर्वाधारहरू विकास गरिएका छन्।

५१ वटा मूल्याङ्कन सूचकहरूमध्ये ४५ सूचकमा १सय  प्रतिशत र बाँकी ६ सूचकमा ९५–९७ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ। बाल सञ्जाल र क्लबहरूको सशक्त संरचना, टोलस्तरको सक्रियता, तथा २ सय ५० बालबालिकाको सहभागी संरचनागत उपस्थिति वडालाई बालमैत्री घोषणासम्म पुर्‍याउने प्रमुख आधार बनेको हो।

यस घोषणाले पालिकामा बाल अधिकार, सशक्तीकरण र सहभागिताको यात्रामा महत्त्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विद्यालय, टोल विकास संस्था, महिला स्वयंसेविका, पत्रकार लगायतको उपस्थिति थियो। घोषणा कार्यमा योगदान पुर्‍याउने व्यक्तिहरू र संस्थाहरूलाई कार्यक्रममै सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?