Butwal Today

सार्वजनिक सुनुवाइ मार्फत जनताका गुनासा सुन्दै सत्यवती 

३१ असार २०८२, मंगलवार
अ+
अ-

गुल्मी, ३१ असार ।

गुल्मीको सत्यवती गाउँपालिकाले सार्वजनिक सुनुवाइ मार्फत नागरिकसँग प्रत्यक्ष अन्तर्क्रिया गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी नागरिकका समस्या र गुनासाहरू सम्बोधन गरेको छ । सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले पालिकाले एक आर्थिक वर्षको अवधिसम्म भए गरेका विभिन्न कार्य प्रगति एवं खर्च विवरणको बारेमा सेवाग्राहीलाई विस्तृत रूपमा जानकारी गराएका थिए ।

सत्यवती गाउँपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा स्थानीयका एक दुई दर्जन भन्दा बढी प्रश्नमा सवाल जवाफ भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले गाउँपालिकाले यो आर्थिक वर्ष भित्र सम्पादन भएका योजना र प्रगतिको बारेमा थप स्पष्ट पारेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा सडक मर्मत, अनुगमन, कृषि क्षेत्रका समस्या, कृषि अनुदान, फोहोर व्यवस्थापन, विद्युत्, पार्किङ लगायतका विषयहरूमा स्थानीयले प्रश्न गरेका थिए ।

प्रश्नको मुख्य जबाफदेही वक्ता गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेय, उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, वडाध्यक्ष विष्णु प्रसाद भण्डारी एवं सम्बन्धित शाखाका प्रमुखहरूले उठेका विषय वस्तुहरूको बारेमा जवाफ दिएका थिए ।उक्त सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे र टोपलाल अर्यालद्वारा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?