© २०२३
चन्द्रौटा (कपिलवस्तु), ३१ असार । सडक दुर्घटना न्यूनिकरण गर्ने अभियानका साथ चन्द्रौटामा सवारी चालकहरूलाई लागू पदार्थ सेवन (ला.प.से.) चेकजाँच गरिएको छ । शिवराज नगरपालिका वडा नम्बर ५ को सहकार्य, वडा प्रहरी कार्यालय चन्द्रौटा र अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाद्वारा संयुक्त रूपमा मंगलबार चेकजाँच गरिएको हो ।
चालकहरूलाई मल्टि ड्रग टेस्ट प्यानल किटको प्रयोग गरी मापसे जाँच गरिएको अस्थाई ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख लिल बहादुर कुँवरले बताए । चेकजाँचका क्रममा टिप्पर, बस, जीप, अटो र मोटरसाइकल सवारी चालक २० जनाको परीक्षण गर्दा एक जना चालक मादक पदार्थ सेवन अवस्थामा सवारी चलाइरहेको पाइएको उनले बताए ।
यूनिओपएस लुम्बिनी प्रदेश प्रमुख बिरेन्द्र्र बस्यालले नियमित र छड्के चेकजाँचबाट दुर्घटना न्यूनीकरणमा सकारात्मक टेवा पुग्ने बताउँदै आम नागरिकको सुरक्षामा समेत महत्वपूर्ण भुमिका खेल्ने बताए । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले यो अभियानको उद्देश्य दण्ड नभई चेतना फैलाउनु भएको बताए । ‘चालकहरूमा सवारी सुरक्षाबारे चेतना फैलाउन पहल गरेका हौं । अधिकांश चालक सचेत भेटिनु सकारात्मक संकेत हो ।’–उनले भने ।
यसैबीच वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले पछिल्लो समय मापसेका कारण सडक दुर्घटना बढेको तथ्याक आएको भन्दै स्थानीय सरकार र सुरक्षाकर्मीको सहकार्यमा नियमित रूपमा यस्तो चेकजाँचलाई निरन्तरता दिने बताए । कारवाही नभई दुर्घटना न्यूनीकरण र जनताको ज्यानको सुरक्षा लक्षित गरि कार्यक्रम चलाएको उनले बताए ।
अभियानमा स्थानीय बासिन्दाको समेत सक्रिय सहयोग रहेको प्रहरीले जनाएको छ । नागरिकहरूको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रिया देखिएको भन्दै आगामी दिनमा समुदायमैत्री प्रहरी सेवाको विस्तार गरिने प्रहरी निरीक्षक शाहले जानकारी दिए ।