© २०२३
बुटवल, ३१ असार ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्ण रूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ति जारी गरी दाबी गरेको छ । मिति २०८२ असार २८ गते दसौँ वार्षिक साधारण सभा संस्थाका सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाबिच सम्पन्न मर्जर भौतिक तथा भर्चुअल माध्यममार्फत सेयर धनीको ६२.७८% उपस्थितिमा भएको हुँदा वैधानिक र पारदर्शी भएको स्पष्ट पारेको हो ।
मर्जर प्रक्रिया सम्बन्धीमा संस्थाले तीन वटै ट्रेड युनियन प्रतिनिधिहरूसँग लामो छलफल पछि नेपाल राष्ट्र बैङ्कमा मर्जर प्रस्ताव पेस गरेको र त्यसपछि राष्ट्र बैङ्कबाट सैद्धान्तिक सहमति प्राप्त भएको उल्लेख छ । यसपछि लेखा परीक्षकमार्फत विस्तृत आर्थिक अध्ययन तयार गरी साधारण सभामा पारित गरिएको विज्ञप्तिमा लेखिएको छ ।
यसबिच केही सञ्चारमाध्यम र केही व्यक्तिहरूले सामाजिक सञ्जालमा मर्जर प्रक्रिया र नेतृत्वको भूमिका बदनाम गर्ने ढङ्गले अप्रामाणिक सूचना प्रकाशन गरेकोप्रति खण्डन गर्दै संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाले आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित आएका सबै सेयर धनीलाई सहभागिता गराइएको दाबी गरेको छ ।
प्रमुख कार्यकारी अधिकृतको कार्यकाल विस्तार गर्न मर्जर गरिएको भन्ने भ्रामक आरोप अस्वीकार गर्दै संस्थाले कटुवालको सेवा अवधि अझै बाँकी रहेको र राष्ट्र बैङ्कको निर्देशनअनुसार मर्जर प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ । मर्जरबाट भविष्यमा पुँजी, कर्जा लगानीको दायरा, सदस्य लाभ, कर छुट लगायतका क्षेत्रमा सकारात्मक असर पर्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तिमा लेखिएको छ ।
साथै, ग्रामीण र समाज लघुवित्तबिच हुने मर्जरले संस्थागत मजबुती आउने उल्लेख गरिएको छ । यसै गरी यो आर्थिक वर्ष नेपाल सरकारको बजेट बक्त्ब्यबाट संस्थालाई २ अरब रुपैयाँ सहुलियत दरको कर्जाको समेत व्यवस्था गरिएको छ ।