© २०२३
सैनामैना, ३१ असार । थारु समुदायको परम्परागत पहिचान बोकेको ऐतिहासिक लेडुवा पोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास थालिएको छ । लामो समयसम्म बेवास्तामा परेर झारपातले ढाकिएको यो पोखरी पछिल्लो दुई वर्षयता सैनामैना नगरपालिकाको अग्रसरतामा संरक्षणको काम अघि बढेको हो । सयौ वर्ष पहिले प्राकृतिक इतिहास बोकेको १२ विगाहा क्षेत्रमा फैलिएको हुदा बाह्र विगाहा पोखरीको नामले पनि चिनिन्छ ।
सैनामैना नगरपालिका–४ लेडुवा गाउँस्थित पोखरी थारु समुदायको साझा जीवनशैली, कृषि प्रणाली र सांस्कृतिक इतिहाससँग गहिरो रूपमा जोडिएको छ । गाउँको सिँचाइ, माछापालन र सामाजिक मेलमिलापको केन्द्रका रूपमा रहेको पोखरी अहिले संरक्षण र सौन्दर्यीकरणको प्रक्रियामा छ ।
सैनामैना–४ लेडुवा गाउँका ६० वर्षिय घनश्याम थारुको १ विगाहा जग्गा छ । उनि कृषि पेशा गरेरै आफ्नो र परिवारको जिविका चलाउँदै आएका छन् । खेती किसानीमा आश्रित हुने समुदाय थारु समुदाय रहेकोले आफूले पनि बुबाबाजेले गर्ने पेशालाई अंगाल्दै खेतीपातीको काम गर्दै आएको सुनाए । “यो पोखरी सिँचाइको एकमात्र स्रोत थियो । बुवाबाजेले खाल्टो खनेर बाँध बनाएको र विस्तारै पोखरीको आकार बढ्दै बाह्र विघा क्षेत्रफलमा फैलिएको हो ।” –उनले भने । उनले पोखरी विगतमा झारपातले भरिएको र अतिक्रमणको चपेटामा परेको भए पनि अहिले रमणीय स्वरूपमा फर्किएको बताए ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माका अनुसार, २०७९ सालमा निर्वाचित भएपछि पहिलो पटक १० लाख रुपैयाँ बजेट विनियोजन गरी संरक्षणको थालेको बताए । “यो पोखरी अब सैनामैनाको पर्यावरणीय सम्पदा मात्र होइन, पर्यटकीय गन्तव्य पनि बन्नेछ,” शर्माले बताए । नगरपालिकाले ‘एक वडा, एक पोखरी’ अवधारणासँगै, ‘घुमौं सैनामैना, रमाऔं सैनामैना’ कार्यक्रममार्फत नगरका अन्य सांस्कृतिक, धार्मिक र प्राकृतिक क्षेत्रको प्रचारप्रसार गर्न थालेको छ । शर्माले भने, “पोखरी अब केवल स्थानीयको सम्झनामा सीमित रहने छैन । यो सैनामैनाको चिनारी बन्नेछ ।”
नगरपालिकाले हालसम्म पोखरीको बाँध निर्माण, गहिराइ वृद्धि, पानी निकास, वरपरको सरसफाइ र संरचना निर्माणका काम गरिसकेको छ । साथै, समृद्धिका लागि वन परियोजनाबाट १९ लाख ५० हजार, राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिबाट १५ लाख, र सिचाइ डिभिजन कार्यालयबाट १० लाख गरी कुल ४१ लाख ५० हजारको बजेटमा योजना कार्यान्वयन भएको छ ।
योजना तथा शहरी विकास शाखा प्रमुख सुरज न्यौपानेका अनुसार पोखरीको दक्षिणतर्फ क्षेत्र विस्तार, ६ स्थानमा हेण्डपाइप जडान, रिटेनिङ वाल निर्माण जस्ता काम सम्पन्न भएका छन् । आगामी वर्ष पोखरी वरिपरि पार्क, विश्रामस्थल, डुङ्गा सयर, खुला व्यायामशाला, विजुली र सडक पहुँच निर्माणका योजना छन् ।
स्थानीय चित्रबहादुर केसी भन्छन्, “पोखरीको संरक्षणले वातावरणीय सन्तुलन, चराचुरुङ्गीको वासस्थान र आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्नेछ ।” अर्का स्थानीय रामकृपाल थारुका अनुसार, “पहिले गाउँमा सिँचाइको ठूलो संकट थियो, अहिले पोखरीको पानीले खेतीपाती सहज भएको छ ।”