© २०२३
सुनसरी ।
सुनसरीको हरिनगर गाउँपालिका–६ मा १७ वर्षीया अर्चना खातुनको आफ्नै भिनाजुले गोली हानी हत्या गरेका छन्। भारतीय नागरिक ३५ वर्षीय आजाद मियाँले राति अर्चनालाई पछाडिबाट गोली प्रहार गर्दा घटनास्थलमै उनको ज्यान गएको हो।
प्रहरीका अनुसार मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्, जसविरुद्ध भारतमै चोरीलगायत विभिन्न आपराधिक मुद्दामा अभियोग लागेको छ। उनी नेपालमा लुकीछिपी बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबेला घरमा अर्चना र उनकी बहिनी मात्र थिए। मियाँ रातिराति सालीहरू भेट्न आउने गरेको र गएराति पनि त्यही क्रममा आइपुगेर गोली प्रहार गरेको प्रहरीको भनाइ छ। हत्या किन गरिएको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।
घटनापछि अर्चनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनास्थलको मुचुल्का उठाएर विस्तृत अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपीको नेतृत्वमा टोली परिचालन गरिएको छ।
हाल मियाँ फरार छन्। प्रहरीका अनुसार भारतको सुपौल र नेपालतर्फ हरिनगर नाकासहित सीमावर्ती क्षेत्रहरूमा मियाँको खोजी र निगरानी तीव्र पारिएको छ।