© 2026
लमही, ३० असार ।
सामुदायिक विद्यालयप्रति बढ्दो जनविश्वास बढेको एक कार्यक्रममा चर्चा भएको छ । विद्यालयको नजिताले गढवा गाउँपालिका सामुदायिक विद्यालयको स्तर प्रस्ट्याएको उनीहरूको दाबी थियो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गढवाले जनता माध्यमिक विद्यालय गढवामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै सामुदायिक विद्यालयको स्तर सुध्रिँदै गएको बताए ।
अध्यक्ष पोख्रेलले “सामुदायिक विद्यालयमाथि बढ्दो विश्वास र विश्वसनीयताले गाउँपालिकाको शैक्षिक छवि नै माथि उठाएको” भन्दै विद्यालय व्यवस्थापन समितिले शिक्षा सुधारका लागि देखाएको सक्रियता र प्रतिबद्धता प्रशंसनीय रहेको बताए। उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीलाई अझ मेहनत गर्न, अभिभावकलाई गर्व महसुस गराउन र विद्यालयलाई अझ उत्तरदायी बनाउने धारणा राखे ।
शिक्षक महासङ्घ अध्यक्ष दयाराम यादवले विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन समितिको साझा प्रयासले मात्रै शैक्षिक गुणस्तरमा सुधार सम्भव हुने भन्दै यस पटकको सम्मान कार्यक्रम त्यसको उदाहरण भएको बताए । सम्मानित हुने विद्यार्थीमध्ये जनता माध्यमिक विद्यालय गढवाकी निर्जल पुन (न्एब् ३.७४), माध्यमिक विद्यालय पचहियाका आयुष चौधरी (न्एब् ३.६०), जनता मावि पचहियाका समिर बिक (न्एब् ३.५४) र जनता मावि गढवाका सुदिप पुन (न्एब् ३.५४) रहेका छन् ।
उनीहरूलाई प्रशंसा–पत्र प्रदान गर्दै प्रेरणादायी विद्यार्थीको रूपमा सम्मान गरिएको हो । यस्तै, उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालयहरू दिपेन्द्र होमजुन माध्यमिक विद्यालय (गढवा–४), माध्यमिक विद्यालय चैनपुर (गढवा–५) र माध्यमिक विद्यालय पचहिया (गढवा–२) लाई समेत सम्मान गरियो। दाङमा यस बर्ष २८ जनाले ४ जिपिए ल्याएका छन् । कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूले आगामी वर्षहरूमा अझ प्रभावकारी योजना बनाएर सामुदायिक विद्यालयको स्तर अझ माथि उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।