© २०२३
भैरहवा, ३० असार ।
लुम्बिनीका युवा अभियन्ता अर्जुन कुर्मीलाई प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्टा बारबराले आमन्त्रित लेक्चररको रूपमा सहभागी हुन आमन्त्रण गरेको छ । यो आमन्त्रणले लुम्बिनी क्षेत्रमा सामाजिक कार्य, पर्यावरण संरक्षण, र नागरिक विज्ञानका क्षेत्रमा कुर्मीले पु¥याएको महत्त्वपूर्ण योगदानको अन्तर्राष्ट्रिय मान्यतालाई झल्काउँछ ।
अर्जुन कुर्मी लुम्बिनी क्षेत्रमा युवा सशक्तीकरण, पर्यावरण संरक्षण, वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धन अभियानमा लामो समयदेखि सक्रिय छन् । विशेष गरी, उनले ‘ग्रिन यूथ अफ लुम्बिनी’ नामक संस्था मार्फत लोपोन्मुख चरा प्रजाति सारसको संरक्षण र समग्र परिदृश्य संरक्षणमा नागरिक विज्ञानको अवधारणालाई अगाडि बढाएका छन् उनको सारस संरक्षण सम्बन्धी कार्यलाई हेरेर धार्मिक अध्ययन विभागको धर्म मानव शास्त्र समाज अध्यक्ष प्रोफेसर मेफेयर याङ प्रभावित भएकी थिइन । उनकै पहलमा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्टा बारबारले कुर्मीलाई आमन्त्रित गरेको हो ।
युनिभर्सिटीले पत्र पठाउँदै नेपालमा धार्मिक वातावरणवादको बारेमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई दुई वटा कक्षा लिन आग्रह गरेको छ । “जैविक विविधता प्रवर्द्धन, पुनर्चक्रण र सफा वातावरण कायम राख्ने महत्त्वबारे शिक्षित गर्ने तपाईँको अनुभव प्रेरणादायी हुनेछ ।” कुर्मीलाई पठाइएको पत्रमा उल्लेख छ ।
अक्टोबर २२ देखि २४ तारेख सम्ममा २ वटा कक्षा लिए बापत कुर्मीलाई युनिभर्सिटीले नीति शास्त्र, धर्म र सार्वजनिक जीवनको अध्ययनका लागि वाल्टर एच। क्याप्स केन्द्रबाट १ हजार ५ सय डलर यातायात खर्च पनि व्यहोर्ने उल्लेख गरेको छ । नेपालको लुम्बिनीमा सारस जस्ता लोपोन्मुख प्रजातिहरूको वातावरणीय संरक्षण र संरक्षणमा जनतालाई शिक्षित र संलग्न कसरी गराएको बारे कुर्मीको ज्ञान आदानप्रदान मुख्य हुने युनिभर्सिटीको विश्वास रहेको छ ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्टा बारबरा जस्तो विश्व–स्तरीय संस्थाबाट आमन्त्रण पाउनु आफ्नो लागि मात्र नभई र समग्र लुम्बिनी क्षेत्रका लागि गौरवको विषय भएको कुर्मीले बताए । “यसले विश्वसामु नेपालको युवा प्रतिभा र लुम्बिनीमा भइरहेका सकारात्मक सामाजिक तथा पर्यावरणीय पहलहरूलाई चिनाउन मद्दत पुग्नेछ ।” उनले भने “यो आमन्त्रणले आफ्नो अनुभव र ज्ञान विश्वव्यापी शैक्षिक मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ, जसले अन्य युवा अभियन्ताहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरेको छु ।”