© २०२३
दाङ,३० असार।
दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धाम धारा पानीमा एक महिने महायज्ञ तथा महाआरती सञ्चालन हुने भएको छ । यही साउनको १ गतेदेखि ३२ गतेसम्म श्री शिव महापुराण सत्सङ्ग ज्ञान महायज्ञ एवं श्रीगारिक महाआरती सञ्चालन हुने भएको हो । पाण्डवेश्वर महादेव धामको धार्मिक तथा पर्यापर्यटकीय प्रवर्द्धन एवं सनातन धार्मिक जागरणका लागि मन्दिरले एक महिने महायज्ञ तथा श्रीगारिक महाआरती सञ्चालन गर्न लागेको हो ।
मन्दिर व्यवस्थापन समितिले एक महिने धार्मिक महायज्ञ तथा श्रृगांरिक महाआरतीको तयारी बारेमा जानकारी दिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक गणेशकुमार अधिकारीले महायज्ञ तथा महाआरतीलाई भव्यताका साथ सफल बनाउन विभिन्न उप–समिति गठन गरिएको जानकारी दिएका छन् ।
शिव महापुराण सत्सङ्ग ज्ञान महायज्ञ तथा श्रृगांरिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम सञ्चालन गरिने छ । जसमा आरती सङ्कल्प, ब्राह्मण भोजन सङ्कलन, प्रसादी वितरण सङ्कलन, रुद्राभिषेक सङ्कलन र श्रावण ३१ गते सामूहिक लक्ष्य वर्तिका दीप प्रज्वलन कार्यक्रम तय गरिएको छ ।
साउनको २ गतेदेखि साउन ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म, रुद्राभिषेक नृत्य पूजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायण, बिहान साढे ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।
मन्दिर परिसरभित्र महायज्ञ अवधिभर भक्तजनहरूको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनका विभिन्न स्टल तथा वाल उद्यान सञ्चालन गरिने छ ।