© २०२३
जितपुर, ३० असार ।
वाणगंगा नगरपालिका–९ स्थित कपिल प्रज्ञा पुस्तकालय र कपिल आरोग्य मन्दिर कपिलधामको संयुक्त आयोजनामा २११औँ भानु जयन्ती भव्य रूपमा मनाइएको छ । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्मानमा आयोजित कार्यक्रममा विविध साहित्यिक गतिविधिहरू सम्पन्न भएका थिए ।
कार्यक्रमको सुरुवातमा भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । वडाध्यक्ष कमल पौडेल, विभिन्न साहित्यकार, समाजसेवी तथा स्थानीय नागरिकहरूको उपस्थितिमा कार्यक्रमलाई विशेष बनाइएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले आफ्नो मन्तव्य राख्दै, “कवि भनेका राष्ट्रका गहना हुन्, यिनको संरक्षण गर्नु हाम्रो दायित्व हो,” भन्दै आदिकविका योगदानको उच्च मूल्याङ्कन गरे । उनले भानुभक्तले नेपाली भाषा र जनचेतनामा पु¥याएको प्रभाव र योगदानको चर्चा गर्दै यस्तो अवसरमा युवापुस्ताले प्रेरणा लिनुपर्ने बताए।कार्यक्रममा साहित्यकार दीपक कुँवर, लेखनाथ घिमिरे, गणेशमान थारु, मोहन ज्ञवाली लगायतले भानुभक्तको काव्य, विचार र योगदानलाई समेट्ने कविता वाचन र साहित्यिक प्रस्तुतिहरू प्रस्तुत गरे ।
कार्यक्रममा कपिल प्रज्ञा पुस्तकालयका अध्यक्ष इन्द्र बहादुर कोइरालाले सहभागी सबैमा धन्यवाद व्यक्त गरेका थिए भने (सहजीकरण) सचिव दुर्गा प्रसाद पौडेलले गरेका थिए । भानु जयन्तीको यस कार्यक्रममा स्थानीय शिक्षित वर्ग, विद्यार्थी, बुद्धिजीवी, साहित्यिक अभियन्ता र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले भानुभक्तको योगदानलाई समय सान्दर्भिक बनाउँदै साहित्यप्रतिको रुचि जगाउने खालका यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रमले भानुभक्त आचार्यको जीवन, कृति र योगदानको स्मरण गर्दै नेपाली भाषा र साहित्यको संरक्षण र प्रवर्द्धनमा सबै एकजुट हुनुपर्ने सन्देश दिएको आयोजक संस्थाले जनाएको छ ।