काठमाडौं, २९ असार ।
साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपाली महिला टोली आज घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।ढाकास्थित बसुन्धरा किंग्स एरिनामा साँझ पौने सात बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै सशक्त सुरुआत गरिसकेको छ।

उता, बंगलादेशले पनि श्रीलंकालाई ९–१ ले हराउँदै आफ्नो दावेदारी पुष्टि गरिसकेको छ। घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेश नेपालविरुद्ध पनि जित निकाल्ने लक्ष्यमा छ।
आजै भएको पहिलो खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। डबल राउन्ड रोविन ढाँचामा भइरहेका खेलहरूमा नेपालले अब क्रमशः मंगलबार (१६ जुलाई) र १७ जुलाईमा श्रीलंकासँग, १९ जुलाईमा भुटानसँग, र अन्तिम खेलमा २१ जुलाईमा बंगलादेशसँग पुनः प्रतिस्पर्धा गर्नेछ। लिग चरण सकिएपछि सर्वाधिक अंक हासिल गर्ने टोली च्याम्पियन बन्नेछ।



