© 2026
नवलपरासी, २९ असार ।
बिरामीलाई संघन हेरचाह अर्थात् इनसेन्टिभ केयर युनिट (आइसियु) सञ्चालनमा जिल्ला स्थित पृथ्वीचन्द्रले चासो देखाएको छैन । अस्पतालमा आइसियु सेवा सञ्चालनमा ल्याउन स्थानीयले माग गरे पनि अस्पताल व्यवस्थापनले आर्थिक अभाव देखाउँदै सञ्चालन गर्नमा आलटाल गरेको हो ।कोभिड १९ को बेला केही सङ्घसंस्थाले उपकरण लगायतका सामग्री उपलब्ध गराएको तर त्यस बेला भवन अभाव देखाउँदै अस्पतालले आइसियु सेवा सञ्चालन प्रति बेवास्ता गर्दै आएको थियो । अहिले नयाँ भवन बनेसँगै स्थानीयले पुनःआईसियु सेवाका लागि आवाज उठाउन थालेका छन् ।
सबै सुविधा भएपछि अस्पताले आइसियु सेवा सुचारु गर्नु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बताएका थिए । तर अहिले अस्पताल प्रशासनले आर्थिक समस्यालाई अगाडि सारेको छ । अस्पतालका अध्यक्ष जगदीश चौधरीले यसका लागि आफूले अस्पतालको बैठकमा कुरा उठाएको तर मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल होदाले सो सञ्चालनमा चुनौती रहेको भन्दै पन्छाएको बताए । साउनमा नयाँ भवनको उद्घाटन कार्यक्रम रहेको जानकारी गराउँदै उनले भवन उद्घाटन पछि आइसियु सञ्चालनका लागि सरोकारवालासँग छलफल गरी अगाडि बढ्ने समेत उनले बताएका थिए ।
यता आइसियु सेवाका लागि सरकारले नै बजेट सुनिश्चितता गरेपछि मात्र दीर्घकालीन रूपमा आइसियु सञ्चालन गर्नुपर्ने राय मेसु डा.होदाले ब्यक्त गरेका थिए । बर्षभरिको कम्तीमा डेढ करोड सम्मको खर्च आउन सक्ने हुँदा सो स्रोतको व्यवस्थापन गरी मात्र आइसियु सेवा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । अस्पतालमा आइसियु सेवा आवश्यक छ, उनले भने, तर स्रोतको व्यवस्थापन पनि उत्तिकै आवश्यक हुन्छ । चौबिसै घण्टा नर्स, मेडिकल अधिकृत र मेडिसिनका चिकित्सकहरूलाई आइसियुका लागि राख्नु पर्छ, उनले थपे, यसले गर्दा प्रदेश सरकारले यदि यो स्रोत सुनिश्चित गरिदिँदा सञ्चालनमा ल्याउन सकिने उनको भनाइ थियो ।
आइसियु सञ्चालन भयो भन्ने डायलसिस, जटिल प्रकारका सर्जरी, सर्प दंश उपचारका लागि समेत सहयोगी हुने थियो । यस्ता उपचारमा जटिलता आउने गर्छ, त्यसका लागि आइसियु अति आवश्यक पर्छ । आइसियु नहुँदा यी सेवाहरू प्रभावकारी हुन सकेका छैनन् । जटिलता देखिए पहिला नै रिफर गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
सर्पदंशमै पनि चाल आर्थिक वर्षमा १ सय २० भन्दा बढी बिरामी आएका थिए,जसमा अति विषालु सर्पले टोकेका बिरामीलाई तत्कालै रिफर गर्न परेको थियो । अहिले अस्पतालमा डायलसिस सेवा पनि भई रहेको छ, तर जटिल छ ।
सर्जन, मेडिसिन एनेस्थेसिया लगायतका चिकित्सक भए पनि जटिल सर्जरी पनि हुन सकेका छैनन् । आन्तरिक स्रोतको व्यवस्थापन गरेर पनि आइसियु सञ्चालन गर्नुपर्ने अस्पतालका चिकित्सकहरूले पनि बताउँदै आएका छन् । स्थानीय सरकारसँग समन्वय गरेर कहीँ काजमा स्वास्थ्यकर्मी झिकाएर पनि आइसियु सञ्चालन गर्न सकिन्छ, एक चिकित्सकले भने, तर अस्पताल व्यवस्थापन र प्रशासनले अग्रसरता देखाउन प¥यो । जटिल अप्रेसन हुन थालेपछि बिरामीबाटै पनि खर्च उठाउन सकिन्छ, बिरामीले आ–आफ्नै जिल्लामा सेवा पाउन सक्छन् । सेवा सुचारु गर्दै आउने चुनौतीलाई व्यवस्थापन गर्दै लैजानु पर्ने उनको भनाइ थियो ।
अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई व्यवस्थित गरी डायलसिस सेवा शुभारम्भ गरिएको थियो । ५ वटा बेड राखेर उक्त सेवा सुचारु गरिएको उनले जानकारी गराएका थिए । दुई दिनदेखि बिरामी सम्पर्कमा आउँदै सेवा लिन थालेका छन्, चार जना बिरामीको सफल डायलसिस भएको छ, । तत्काल सेवा अस्पतालकै खर्चमा सञ्चालनमा आएको छ । बिरामीहरूले अन्य अस्पतालमा सेवा लिँदै आएका थिए । तर ती अस्पतालबाट रेकर्ड सारेर आएको छैन । त्यो भएर सरकारले प्रदान गर्ने डायलसिस सेवा बापतको रकम उपलब्ध गराउदैन् । तर बिरामीको माग अनुसार नै सेवा सुचारु गरी सकिएको छ ।
सरकारले डाईलसिस गराउने बिरामीलाई निःशुल्क सेवा दिन स्थानीय स्तरमै उपकरण र जनशक्ति पठाई सकेको तर उपकरण मेसिन जडान नगरी त्यसै राखिएको अवस्थामा फेला परेको कुरा केही महिना पहिला आएको महालेखा परीक्षकको टोलीले आफ्नो मलेप प्रतिवेदनमै तस्बिर सहित नै उल्लेख गरेको थियो । अस्पतालमा झन्डै ४० लाखका उपकरण तथा मेसिनहरू खरिद गरी थन्किएको देखेर मलेपले तत्काल सञ्चालनमा ल्याउन सुझाव दिइएको थियो । त्यसका लागि नागरिक अगुवा तथा राजनीतिक दलको साथ सहयोगको अपेक्षा समेत राखेका थिए ।
अस्पतालका कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुष्तदुरुष्त बनाउँदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउनमा मिलेर अगाडी बढ्ने समेत उनले सुनाएका थिए । अझ पनि अस्पतालमा आँखा उपचारका लागि नेत्र रोग विशेषज्ञ सीमा भण्डारी र नेत्र सहायक समेत अस्पतालमा भए पनि उचित उपकरण अभावले आँखाको अप्रेसन हुन सकेको छैन । आँखाका लागि विशेषज्ञले सामान्य आँखा परीक्षण गर्ने कार्य मात्रै भई रहेको छ । ५० सैया अस्पतालमा बहिरँग विभाग अन्तरगत नै आँखा परीक्षणका सेवा समेत सञ्चालन गर्नु पर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परीक्षणका लागि विभाग बनाउने योजना ल्याएको थियो ।
अस्पतालमा नियमित उपचार गराउने मधुमेह तथा रक्तचाप लगायतका बिरामीलाई औषधी चलाउँदा आँखामा समेत असर पर्ने हुँदा त्यसको समेत नियमित परीक्षण गर्नु पर्ने भएकोले अस्पतालले आँखा परिक्षणको सेवा थप गर्न लागेको अस्पताल व्यवस्थापनले जानकारी गराएको हो । सर्जरीका लागि पनि अस्पतालले बेहोस बनाउने जनशक्ति पनि राखी सकेको हुँदा अस्पतालको सेवाको गुणस्तरीयतामा अब प्रश्न उठ्ने कुरा नहुने विश्वास गरिएको उनको भनाई थियो । पहिला विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिँदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहुँदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरी रिपोर्ट दिने अवस्था नहुँदा उपचारमा केही समस्या भए पछि अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितिले सेवासँगै गुणस्तरीय सेवा बिरामीले पाउन थालेको अस्पतालले जनाएको छ ।