© २०२३
काठमाडौं , २९ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनप्रति गुनासो गर्दै आफैंले अघि सारेको नेतृत्वबाट आफू बारम्बार कारबाहीको शिकार भएको बताएका छन्।
आइतबार निर्वाचन आयोग पुगेर कारबाहीविरुद्ध निवेदन दिएका राणाले अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई हटाइएको विषयमा असहमति जनाए। उनले सुवेदीमाथिको कारबाही अनुचित रहेको र आफूले त्यसको पुनरावलोकन माग्नुपरेको स्पष्ट पारे।
राणाले क्यान्सर उपचारका लागि भारत गएका बेला आफूलाई पदबाट हटाइएको र पार्टीभित्र सहमति कायम गर्न अध्यक्षको घरमा पटक–पटक गए पनि कुनै समाधान ननिस्किएको बताए। उनले भने, “मैले नयाँ पुस्तालाई काँधमा बोकेर ल्याएँ, तर अहिले ममाथि नै बारम्बार कारबाही भइरहेको छ।”
उनले पार्टी फुट्न नदिने प्रतिबद्धता जनाउँदै, “पार्टीको एजेन्डा राम्रो छ, तर नेतृत्वले सबै निर्णय एकलौटी गर्न खोजे प्रतिवाद हुन्छ,” भन्ने चेतावनीसमेत दिए।
पार्टी विधानअनुसार अध्यक्षले मनोनयन गर्न सक्ने तर हटाउने निर्णय भने कमिटीबाट गर्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै राणाले अध्यक्ष लिङ्देनले नियमविपरीत एकल निर्णय लिएको आरोप लगाए।
महाधिवेशन नजिकिँदै गर्दा भएका यस्ता कारबाहीले नेतृत्वको नियतमाथि प्रश्न उठाएको राणाको भनाइ छ।