© २०२३
बुटवल, २९ असार ।
बुटवल–दाङ बसमा २०४८ सालमा सहचालक बनेर कुँदेको चेतनारायण बेलबासेलाई हिजो जस्तै लाग्छ । बसमा सहयोगीको रुपमा काम गर्दाको रवाफ सम्झदा उनी दङ्ग पर्छन् ।
गाडी लाइनमा काम गर्दाको माया र सद्भाव अर्कै हुने गरेको उनको अनुभव छ । यात्रु लिएर हिँड्दा आम मानिसले चालकलाई गर्ने सम्मान देख्दा आफूलाई पनि ड्राइभर बन्ने रुचि उनमा जाग्यो ।
‘हिजो जस्तो छैन अहिले’– उनले भने । लु १ ख ७२५ र लु १ ख ७९९ दुई वटा बसमा उनी सहयोगीका रुपमा काम गरे । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर–२ पटौटीमा जन्मिएका चेतनारायणको परिवार वि.सं. २०३० को दशकमा बसाइँसराई गरी रुपन्देहीको सैनामैना नगरपालिका–१० मा झरेको थियो ।
बुटवल बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आइए) अध्ययनकै क्रममा उनी यातायात क्षेत्रमा होमिएका थिए । युवा जोस र जाँगर बोकेर यातायात क्षेत्रमा आएका उनले बुटवलका पुराना यातायात व्यवसायी तुल्सीराम बन्जाडेको संरक्षण पाए ।
बञ्जाडेका जेठा छोरा अर्जुनका स्कुले सहपाठी रहेका उनी आफूलाई यहाँसम्म पु¥याउनमा बन्जाडे परिवारको पनि ठुलो हात रहेको बताउँछन् ।
सह–चालक हुँदै वि.सं. २०५२ सालदेखि आफ्ना अंकल लक्ष्मण बेल्वासे र आफू मिलेर गाडी किने । यातायात क्षेत्रमा प्रवेश गरेको ४/५ वर्षपछि आफैँ मालिक र आफै चालक भएर सडकमा बस गुडाउन थाले ।
पहिलो पटक स्वरोजगार चालक भएर बस हाँक्दाको अनुभूति सम्झिंदा अहिले पनि गर्वले छाती ढुक्क फुल्ने गरेको उनी बताउँछन् ।
यसपछि गाडीमा सहचालक, परिचालक भएर काम थाले । युवा जोश जाँगरले भरिएका उनी चालकको जिम्मेवारी सहित ‘स्टेरिङ’ समाउँदा उनको गाडीको ‘स्पीड’ सधैँ तीव्र हुन्थ्यो ।
सबैलाई उछिनेर छिटो गन्तव्यमा पु¥याउने उनको गाडीको विशेषता बनेको थियो । त्यो क्षमताले गाडी कुदाउँदा एक दिन बुटवलका धर्म खड्काले ‘कस्तो गोली चलाए जस्तै गरी बस चलाएको’ भने ।
त्यसपछि उनलाई धर्मले मात्र नभई क्रमशः सबैले चेत नारायणको सट्टा गोली नारायण भन्न थाले । यसरी गोली नारान नाम नामाकरण भयो । चेतनारायणले सुरूमा पोखरा–स्याङ्जा, वालिङ–बुटवल रूटमा गाडी चलाउन थाले ।
‘त्यो बेलामा पुराना गाडीमा मिटरले काम गर्दैनथे,’ उनी भन्छन्, ‘मैले पहाडको बाटोमा ७०/८० किलोमिटर प्रतिघण्टामा गाडी हाक्थें । त्यो बेलामा छतमा पनि यात्रुहरू प्रशस्त हुन्थे ।’
त्यही बेलामा तीव्र गतिमा गाडी चलाउने भएर आफूलाई गोली नारायण उपनाम दिइएको चेतनारायणको भनाई छ ।

तीब्र गतिमा बस हाँक्ने तर अनुशासित ढंगले यात्रुहरुलाई ढुक्कसँग सुरक्षित यात्रा गराउने चालक भनेर चिनिने गोली नारायण परेर पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने कुरामा बिश्वास गर्छन् ।
साथीभाईबिच अलि कडा मिजासको तर इमान्दार र विश्वासिलो भनेर परिचित उनी संघर्ष र मेहनतले मानिसलाई सधै शिखरमा पुग्ने जोश जाँगर उत्पन्न गराउने दाबी गर्छन । उनी भन्छन्—“मुख्य कुरा जिम्मेवारी हो, दोश्रो अनुशासन, तेश्रो नैतिकता यति भएपछि सुरक्षित यात्राको ग्यारेन्टी हुन्छ ।”
चेतनारायण बेल्वासे (१७ वर्षको कलिलो ठिटो जाउँजाउँ गुरुजी भन्दै बसको ढोका पिट्ने केटो अहिले परिपक्व हुँदै जिवनका ५३ औ वसन्त पार गर्दै छन् । सहचालक, कन्डक्टर, चालक, स्वरोजगार मजदुर हुँदै मालिकसम्म पुगेका बेल्वासे २४ सय यातायात व्यवसायीहरुका अभिभावक अर्थात संचालक समितिमा समेत पुगेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी संघ अर्थात हालको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का ११ जना संचालक मध्येका एक हुन । तत्कालिन बस समिति हुदा २ कार्यकाल रुट सदस्य, १ कार्यकाल सह–सचिव भएर काम गरेको अनुभव उनीसँग छ ।

निम्नवर्गीय परिवारबाट यातायात क्षेत्रमा लागेका चेतनारायणलाई नाम मात्र नभई सफल व्यवसायी समेत बनाएको छ । ‘व्यक्तिले पाएको उपमाले पनि जीवनमा धेरै कुरा निर्धारण गर्ने रहेछ,’– उनले भने ।
१५ वर्ष चालक रहेका चेतनारायण अहिले गाडी धनी (व्यवसायी) भएका छन् । नेपालकै ठूलो यातायात व्यवसायी संस्थाको रुपमा परिचित पश्चिम नेपाल बस व्यवसायी प्रालिको सञ्चालक समिति सदस्य रहेका छन् ।
चेतनारायणले यातायात क्षेत्रमा काम गर्ने ४० जनाको लागि प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।पछिल्लो समय व्यवसायीबीच स्तरीय सुविधासहितका गाडी भित्र्याउने प्रतिस्पर्धा चलिरहेको छ ।
‘दाङबाट काठमाडौं चल्ने गाडीमा ‘बस होस्टेज’ राखेका गाडी चल्न थाले । पश्चिम नेपालले पनि त्यहीँ मापदण्ड सहितका गाडीहरू भित्र्याउँदै छ,’ उनी भन्छन्, ‘यसले कठिन काम गर्न महिलाहरू पनि सक्षम छन् भन्ने सन्देश दिएको छ । यसलाई संस्थागत गर्न हामी पनि तयार छौं ।’
चार दशक लामो यातायात क्षेत्रको अनुभव संगालि सक्दा पनि चेतनारायण असफल भइने कुरामा सधैँ चिन्तित छन् । एउटा व्यवसायीले करोड रुपैयाँ खर्च गरेर गाडी ल्याउने र अर्को वर्ष नयाँ प्रविधि भित्रने हुदा यस क्षेत्रको स्थायित्व कम रहेको उनी दुख व्यक्त गर्छन् ।
‘समितिका ४ सय गाडी विस्थापित भइसकेका छन् । ती गाडी के गर्ने थाहा छैन । स्थायित्व कम हुँदा व्यवसायीले चुनौतीका चाङ छिचोल्दै अघि बढ्नुपर्छ ।’

दुर्घटना कम गर्न सडकको अवस्था सुधार गर्नुपर्नेमा चेतनारायण जोड दिन्छन् । साथै सडक छेउँमा व्यारियर तथा सूचनामूलक बोर्ड राखिदिने, सडकको मार्किङलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने उनी आवश्यकता देख्छन् ।
‘सरकार सडक मात्र बनाउन केन्द्रित हुँदा सडकको सुरक्षाका विषयमा गम्भीर देखिएको छैन’– उनले भने । सडक निर्माणमा अबौं खर्च गर्ने सरकारले अब सडक सुरक्षाको क्षेत्रमा पनि लगानी बनाउनुपर्ने व्यवसायी चेतनारायणको भनाई छ ।
उनका दुई छोरा अष्ट्रेलियामा छन् । आमा, श्रीमती र एउटा छोरासहित उनी सालझण्डीमा बस्दै आएका छन् । छोराहरूको सपना साकार गर्न उनी कहिल्यै पछि परेका छैनन् ।
“उनीहरूले जे गर्छन्, म त्यहीँ रमाउँछु,” उनी भावुक हुन्छन् । बालसखा अर्जुन बञ्जाडे भन्छन्, “गोलीनारायणले गाडी मात्रै होइन, व्यवहार पनि गोली झैँ गर्छन् — छिटो, प्रभावकारी र सजिलो । समस्या आयो भने तुरुन्त समाधान निकाल्छन् ।”
गोलीनारायणको कथा केवल व्यक्तिगत संघर्षको होइन, यो नेपालको ग्रामीण परिवेशबाट उठेर दृढ इच्छा शक्तिका साथ आफूलाई स्थापित गरेको एउटा प्रेरणादायी दस्तावेज हो ।
जुन बाटो उनले छिचोले, त्यो बाटो धेरैका लागि मार्गदर्शक बन्न सक्छ — जहाँ गाडीले मात्रै होइन, मनले पनि गति लिनुपर्छ ।