Butwal Today

रास्वपाको प्रश्न : स्पेन गएर नफर्किएका नेपालीबारे प्रधानमन्त्रीको मौनता किन?

२९ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २९ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन भ्रमणका क्रममा नेपाली युवालाई फर्काइएन भन्ने घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट जवाफ माग गरेको छ। आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध जनाए। सभामुखले समय दिएपछि सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीसँग प्रश्न उठाउँदै भनिन्, “भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोग प्रमुखको पनि जवाफ आज चाहिन्छ।”

श्रेष्ठले स्पेनको सेल्भिस घटनाले रास्वपाले उठाउँदै आएको मानव तस्करीको मुद्दा अझ स्पष्ट र सान्दर्भिक बनाएको बताउँदै प्रश्न गरिन्, “बिचौलियाहरू किन डराइरहेका छैनन्? कसको अकरमन्यताले मानव तस्करहरूमा यस्तो आट पलाएको हो?”

उनले संसदको गरिमा नै यस्तो गम्भीर विषयमा बोल्नुपर्ने बताउँदै, “गरिमा निलो रिबनमा हैन, यस्तै सवालमा देखिनुपर्छ,” भन्दै सभामुखको ध्यानाकर्षण गराइन्।

श्रेष्ठले २०७८ फागुनमा गठन गरिएको भिजिट भिसासम्बन्धी कार्यदलको प्रतिवेदन अहिले गृहमन्त्रालयमा थन्किएको भन्दै त्यसबारे पनि प्रश्न उठाइन्। दुबईमा भिजिट भिसामा गएका नेपालीको समस्यालाई समाधान गर्न बनाइएको उक्त टोली र अहिलेको टोलीबीच खासै फरक नरहेको उनको भनाइ थियो। मानव तस्करीको जालो ठूलो रहेको उल्लेख गर्दै श्रेष्ठले गम्भीर छानबिन गर्न न्यायिक आयोग गठनको माग समेत गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?