Butwal Today
आज भानुको जन्म जयन्ती  

भाषिक र सांस्कृतिक एकताका सूत्रधार

२९ असार २०८२, आइतबार
अ+
अ-

आज भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्ती । नेपाली साहित्यको क्षेत्रमा भानुभक्त आचार्यले पु¥याएको योगदानको जति नै प्रशंसा र चर्चा गरे पनि त्यो कम हुन्छ । नेपाली साहित्य सर्जकहरूले आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाउँदै छन् । भानुभक्तले नेपाली साहित्यकाशलाई थुप्रै साहित्य सुम्पेर गएका छन् । भानुले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए भन्दा अत्युक्ति हुँदैन ।

विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित भएका थिए । त्यसो त उनको लोकप्रिय कृति ‘बधुशिक्षा’ हो । यो उनको प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति चर्चित छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि भानुभक्तले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । यो कविता आजपनि उत्तिकै सान्दर्भिक छ । किनभने नेपालीको बानी र स्वभावमा अझैपनि भोलीबाद कायमै छ । जे कुरापनि भोलीको लागि भन्ने भोलीबादले नेपालको उन्नती र विकासमा ठूलो समस्या पु¥याएको छ । भानुको योगदान नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा उनको ऐतिहासिक योगदान रहेको कुरा नेपाली साहित्य क्षेत्रले कहिल्यैपनि बिर्सन सक्दैन ।

भानुको नाममा शोधार्थीहरूले दर्जनौं शोधग्रन्थ लेखेका छन् । भानु दिवसको अवसरमा देशका विभिन्न स्थानमा रहेका भानुको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्नेहरूले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएपनि उनको जस्तो सिर्जना नभएकोले उनलाई नेपाली साहित्यको आदिकवि भन्ने गरिएको छ । रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु अन्यथा होइन । वास्वतमा भन्ने हो भने रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको कुरा हरेक साहित्यानुरागीको मन मस्तिष्कमा छ । भानुभक्तको निधन वि.सं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्म जयन्ती नेपालमा मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ । यसरी भन्दा भानुको योगदानको स्मरण विश्वभरी नै हुने गरेको छ ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्वद्र्धनका निम्ति अतुलनीय योगदान पु¥याएका थिए । उनलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा पनि चिनिन्छ । आदिकवि भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको बाल्मिकी रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्वपूर्ण भूमिका निभाएको छ । साथै भानुभक्तीय रामायण नेपालका विभिन्न जातजाति(लाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण रचना हो । नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको सम्वद्र्धनमा टेवा पुग्ने कुरा निश्चित भएकोले भानु सवैका लागि उत्तिकै प्रिय रहेको कुरा निर्विबाद छ । भानुको जन्मजयन्तीको यस अवसरले सबै नेपालीहरू बीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बन(ाउन सहयोग पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?