Butwal Today

मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली, कारोबार ११ अर्ब नाघ्यो

२९ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं , २९ असार।

नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट, आइतबार शेयर बजारमा सकारात्मक असर देखिएको छ। नेप्से सूचक २९ अंकले बढेर २७६० मा पुगेको छ।

बजार खुलेको केही मिनेटमै सूचक ६६ अंकले उकालो लागेर २७९७ सम्म पुगेको थियो। तर, कारोबार बीचमा आएको बिक्री चापले बजार केही सम्हालिएर बन्द भएको हो।

आजको कारोबार रकम उल्लेखनीय रूपमा बढ्दै ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएको थियो।

शेयर मूल्यमा उकालो लागेको कम्पनीमध्ये एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर १० प्रतिशतले बढे। जीवन विकास लघुवित्त, नेस्डो समृद्धि, र समाज लघुवित्तको मूल्यमा पनि उल्लेखनीय वृद्धि भयो।

मौद्रिक नीतिमा माइक्रोफाइनान्सको लाभांश सीमा पुनरावलोकन र बैंकहरूको आधार दर गणना सुधार गर्ने घोषणा भएपछि बैंकिङ र लघुवित्त समूहमा विशेष उछाल आयो।

आज माइक्रोफाइनान्स समूह ३.५०% र बैंकिङ ३.३७% ले उकालो लाग्दा, हाइड्रोपावर, निर्जीवन बीमा, लगानी, र व्यापार समूह भने सामान्य गिरावटमा देखिए।

सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा एनआईसी एशिया बैंक, बुटवल पावर, सानिमा बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, र सीईडीबी होल्डिङ्स परे। आजको समग्र बजार मूल्यांकन (मार्केट क्यापिटलाइजेसन) ४६ खर्ब रुपैयाँ पुगेको छ।