© २०२३
नेपालगञ्ज, २८ असार
नेपालमा रातको समयमा आयोजना हुने एक मात्र १० किलोमिटर दौड प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा प्रवेश गरेको छ । यस प्रतियोगिता हालै विश्व म्याराथनको छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस एम्समा औपचारिक रूपमा प्रवेश भएको हो ।
नेपालगञ्जमा संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि प्रारम्भ गरिएको थियोे । सुरु भएको छोटो समयमै यो दौडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नुले नेपालगञ्जको खेल तथा पर्यटन क्षेत्रमा ऐतिहासिक उपलब्धि थपिएको छ । एम्स सदस्य बनेसँगै नेपालगञ्ज अहिले एम्सबाट मान्यता प्राप्त दुई दौड प्रतियोगिता सञ्चालन गर्ने नेपालकै पहिलो शहर बनेको छ । यसअघि नै मान्यता प्राप्त ‘धारा नेपालगञ्ज म्याराथन’ पछिपछि सुरु भएको ‘नाइट रन’ पनि अब एम्सको ग्लोबल रेस क्यालेन्डरमा सूचीकृत हुनेछ ।
नेपालगञ्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरी भन्छन्, “नाइट रनको सदस्यताले सहरको ब्रान्ड मूल्य बढाउँछ, अन्तर्राष्ट्रिय स्तरमा खेल पर्यटनको ढोका खोल्छ, साथै विदेशी धावकहरूलाई नेपालगञ्जबारे जानकारी दिन मद्दत पुग्छ ।”
नेपालगञ्ज म्याराथनको रुटलाई नेपालकै सबैभन्दा सहज र सरल मानिने भएकाले यहाँ आयोजित दौडहरूलाई अन्तर्राष्ट्रिय धावकका लागि पनि उपयुक्त मानिएको छ । ठकुरीका अनुसार काठमाडौँ २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन, र गौघाट ग्रीन रन जस्ता दौडहरूलाई पनि क्रमशः ब्क्ष्ःक् को मान्यता दिलाउने तयारी भइरहेको छ ।
गत महिना काठमाडौंमा सम्पन्न ‘काठमाडौँ २५ के हेरिटेज रेस’ तथा ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ का अवसरमा एम्स बोर्ड बैठक समेत सम्पन्न भएको थियो । सोही भ्रमणका क्रममा एम्स अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओ स्वयं नेपालगञ्ज आइपुगेका थिए । उनले यहाँको म्याराथन रुटको स्थलगत निरीक्षण गर्दै सहरको दौडसंस्कृति र सम्भावनाबारे सकारात्मक प्रतिक्रिया दिएका थिए । नेपालगञ्ज नाइट रनको एम्स सदस्यता मात्र होइन, यो अब नेपालगञ्जको अन्तर्राष्ट्रिय पहिचान निर्माणतर्फको नयाँ मोड हो । सहरको ब्रान्डिङ, खेल पर्यटन र आर्थिक गतिविधिमा यसले ल्याउने ऊर्जा निकै आशाजनक देखिन्छ ।