Butwal Today

डिङ्गरनगर दूरगामी सहकारीका व्यवस्थापक प्रहरी नियन्त्रणमा

२८ असार २०८२, शनिबार
अ+
अ-

बुटवल, २८ असार ।

बचतकर्ताको करोडौं रकम अपचलन गरी सम्पर्क बिहीन भएका डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमका–३ रुपन्देहीका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई सहकारी संस्थाको कार्यालयबाटै शुक्रबार साँझ नियन्त्रणमा लिइएको बताए ।

पराजुलीविरुद्ध सहकारीका शेयर सदस्य र बचतकर्ताहरुले ठगीको आरोपमा उजुरी दिएका थिए । जसमा अदालतले पक्राउ पुर्जी जारी गरेकाले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको रानाले बताए ।

पराजुलीलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । आज शनिबार भएकाले आइतबार अदालतबाट म्याद थपका लागि लगिने डीएसपी रानाले बताए ।

व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम सहकारीलाई तिर्ने कबुलियतनामा २०८२ साल जेठ ५ गते गरिएको थियो । त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गरेका हुन् वा व्यवस्थापक पराजुलीले आफैँ गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्रीविरुद्ध पनि बचतकर्ताहरुले ठगीको उजुरी दिएका छन् । डीएसपी रानाले भने अनुसन्धान भइरहेकाले अध्यक्ष र सचिवबारे अहिले भन्न नमिल्ने बताए ।

सहकारीको वचत अपचलनको तथ्य बाहिरिएपछि धेरै दिनसम्म सम्पर्कविहीन व्यवस्थापक पराजुलीले सम्पत्ति जोगाउन श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको आरोप लागेको छ ।

व्यवस्थापक वसन्त पराजुली र उनकी श्रीमती बिना पराजुलीले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएको सहकारीका पीडित बचतकर्ताहरुले बताएका छन् ।

अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री पनि फरार छन् । वचतकर्ताहरुले अध्यक्ष र सचिवले पनि सम्पति जोगाउन व्यस्थापकले जस्तै किर्ते सम्बन्ध विच्छेद गर्नस क्ने आशंका व्यक्त गर्दै त्यसो हुन नदिन दिनहुँ उनीहरुको घर घेराउ गर्न थालेका छन् ।

व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।

आफ्नो नाममा रहेको जायजेथा समेत तानिने डरले उनीहरूले सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताहरूले बिहीबार र शुक्रबार व्यवस्थापक,अध्यक्ष र सचिवको घर घरोउ गरेका थिए ।

सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको सूचना पाएका बचतकर्ताहरूले पराजुली र सहकारीको कार्यालयमा घेराउ गरेपछि निवेदक बिना पराजुलीलाई समेत निगरानीमा राखिएको प्रहरीले जनाएको छ । बिनाले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदका लागि दर्ता गरेको निवेदनको रेकर्ड (रेकर्ड नम्बर ६७–०८१–०८२०३) मा सम्बन्ध विच्छेद (सरल मार्ग) उल्लेख छ ।

बचतकर्ताहरूले सहकारीको रकम हिनामिना गरी लगेको रकम श्रीमती र उनका आफन्तहरूको नाममा समेत जम्मा गरेको र हिनामिना गरेको रकम पचाउने दाउमा कागजी सम्बन्ध विच्छेद गर्न लागेको आरोप लगाएका छन् ।

बचतकर्ताहरूले बिनालाई समेत नियन्त्रणमा लिएर पराजुली दम्पतीले गर्न लागेको कागजी सम्बन्ध विच्छेदको निवेदन फिर्ता गर्ने सहमतिमा प्रहरीको जिम्मा लगाएका थिए । २०५० सालमा स्थापित यो सहकारी संस्थामा हाल करिब दुई हजार सदस्य छन् ।

कुल ३८ करोड रूपैयाँ पुँजी रहेको सहकारी संस्थाका अध्यक्ष र सचिव मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन छन् । उपाध्यक्ष बलराम न्यौपाने र कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले भने स्वतन्त्र लेखा परीक्षकले अध्ययन गरिरहेकाले सहकारीको अवस्था के हो भन्ने यकिन भएपछि मात्रै अघि बढ्ने बताउँदै आएका छन् ।