Butwal Today

रामायण वाचनमा तिनाउ प्रथम

२८ असार २०८२, शनिबार
अ+
अ-

बुटवल, २७ असार । बुटवलमा सम्पन्न विद्यालय स्तरिय रामायण वाचन प्रतियोगितामा तिनाउ ईगलिस बोर्डिङ स्कुल प्रथम भएको छ । २१२ औ भानु जयन्तीको अवसरमा आयोजित श्री ज्ञानज्योती पुस्तकालयको आयोजनामा भएको माध्यामिक विद्यालयस्तरीय रामायण वाचन प्रतियोगितामा तिनाउका ऐश्वर्य कार्की र ज्याक्सन दुधराजले उत्कृष्ट शैलीमा आफनो कथा छन्दोबद्ध वाचन गर्दै प्रथम भए ।

यसैगरि प्रतियोगितामा कान्ति माबि दोस्रो, आवर पिसल्याड तेस्रो तथा स्मृति ईगलिस बोर्डिङ स्कुलका विद्यार्थी चौथो भएका छन ।
प्रतियोगितामा छन्दबादी समाज नेपालका संस्थापक अध्यक्ष कबिराज पौडेल र उपाध्यक्ष शंकर पाण्डे निर्णायक रहेको थियो । भानुभक्त लिखित रामायण पद्यमा लय मिलाएर प्रस्तुत गरिएको मध्ये गति, यति र लय मिलाएर छन्दोबद्ध कविताको वाचनलाई उत्कृष्ट घोषणा गरिएको समाज नेपालका संस्थापक अध्यक्ष कबिराज पौडेलले बताए । कुल ६ मिनेटको समय तोकिएको उनले बताए ।

कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै पठन संस्कृति विकाससंगै विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने प्लेटफर्म पुस्तकालयबाट दिने काम भएको बताए ।

कार्यक्रममा पुस्तकालयका अध्यक्ष टुक बहादुर क्षेत्रीले भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषामा योगदान बारेमा चर्चा गर्दै साहित्यप्रति नया पुस्ताको आर्कषण बढाउने गरि रचनात्मक कार्यक्रम गर्न जरुरी रहेको बताए ।

प्रतियोगितामा १७ वटा विद्यालयहरु छात्रछात्राहरु सहभागी रहेको पुस्तकालयका सचिव प्रकाश सुवेदीले बताए । यसैबिच कार्यक्रममा विभिन्न सास्कृतिक नृत्यहरु समेत पेश गरिएको थियो । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गते आइतबार देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।