© २०२३
नेपालगन्ज, २८ असार ।
‘‘हिउँदमा सित लहरसँगै हिउँजस्तै चिसो पानी, बर्खा याममा खोलामा बाढीको वेग तर पनि टुक्रिएको बाटो पार गर्नुपर्ने बाध्यता ।’’ बाँकेको धेरैजसो ग्रामीण बस्तीका बासिन्दाको यस्तै थियो विगतको दैनिकी । खोल्सा, नाला र नदीका कारण गाउँहरू एक आपसमा टाढिँदै थिए, तर अब पुल निर्माणको लहरले ती दूरीहरू मात्र होइन,विगतका पीडा पनि हटाउँदै छ । बाँके जिल्लाका विभिन्न खोल्सामा पछिल्लो समय बन्न थालेका दर्जनौं पक्की पुलहरूले यहाँको जनजीवनमा सकारात्मक रूपान्तरण ल्याउन थालेका छन् । आवतजावत मात्र होइन, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा समेत उल्लेखनीय सहजता आउन थालेको छ ।
पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा मात्रै बाँकेमा धेरैजसो बहुप्रतिक्षित पक्की पुलहरू निर्माण सम्पन्न भएका छन् । बाँकेको नौवस्ता–मनकामना, परस्पुर–गौघाट, बैजनाथ–बैरवा जस्ता स्थानहरूमा खोलाहरूले विभाजित गरेका बस्तीहरू अब पक्की पुलमार्फत जोडिन थालेका छन् । नौवस्ता–मनकामना सडक खण्डमा पर्ने जेठी खोला वनखेत पुल ४ करोड २ लाख रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ । त्यसैगरी खजुरा र जानकी जोड्ने परस्पुर–गौघाट सडकमा किरण नालामाथिको पुल ५ करोड ५७ लाख रूपैयाँको लागतमा निर्माण भइसकेको छ ।
यस्तै, खजुरा–३ स्थित बि गाउँदेखि धौलागिरि स्कुल हुँदै कपास विकास केन्द्रसम्मको गडगैँचा नाला पुल ७ करोड ४५ लाख रुपैयाँमा तयार भएको छ । बैजनाथ गाउँपालिका–४ को मनमाया चुनाको घरदेखि बैरवा जोड्ने सडकमा निर्माण गरिएको अर्को जेठीनाला पुल पनि ५ करोड रूपैयाँ भन्दा बढी लागतमा सम्पन्न भएको छ । यी सबै पुलहरू निर्माणपछि बर्खामा खोलाको बहाव हेरेर बाटो छेउमा पर्खनुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ । अब खोला–नालाले सडक अवरुद्ध गर्दैन, सवारी–साधन र मानिसहरू सहज रूपमा गन्तव्यमा पुग्न सक्छन् ।
बाँकेमा अहिले पनि केही महत्त्वपूर्ण स्थानहरूमा पक्की पुल निर्माण जारी छ । नेपालगन्जको विशाल चोक हुँदै जानकी र खजुरा जोड्ने मार्गको किरण नालामाथिको पुल ५ करोड २६ लाख रुपैयाँमा निर्माण हुँदै छ । यस्तै सिर्जन टोलदेखि जानकी गाउँपालिकासम्म जोड्ने अर्को किरण नाला पुल ४ करोड ६१ लाख लागतमा निर्माणाधीन अवस्थामा छ ।
त्यस्तै, पिप्रीहवा, जयसपुर, शाहीगाउँ, र राधापुरलाई जोड्ने किरण नाला पुल ५ करोडभन्दा बढीमा, सिमलघारी–गिजरा–उडरापुर सडकको जेठीनाला पुल ८ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको छ । राप्ती सोनारी–९ को अर्गानिक होमस्टे क्षेत्रदेखि तल्लो खैरेनीसम्मको सडकमा बनिरहेको पुल पनि ५ करोड भन्दा बढी लागतमा तयार हुँदै छ ।
बाँकेको भौगोलिक बनावट खोल्सा र बाढी प्रभावित क्षेत्र रहेकोले यहाँ दिगो पूर्वाधार निर्माण सधैं चुनौतीपूर्ण रहँदै आएको छ ।तर लुम्बिनी प्रदेश सरकारले पूर्वाधारलाई प्राथमिकतामा राख्दै रणनीतिक ढंगले पुल निर्माणमा तीव्रता दिएको पूर्वाधार सडक विकास कार्यालय बाँकेका निमित्त प्रमुख दीपक खड्काले बताए । उनले भने, “हामीले बाँकेको भौगोलिक चुनौतीलाई ध्यानमा राख्दै मजबुत र दिगो पुलहरू निर्माणमा प्राथमिकता दिएका छौं । सम्पन्न भएका पुलहरूले स्थानीयको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ ।” उनका अनुसार बाढीका कारण विगतमा घण्टौं बाटो कुरेर बस्नुपर्ने बाध्यता अब क्रमशः अन्त्य हुँदै छ ।
पुलहरू बन्न थालेसँगै बाँकेका सडक सञ्जालहरू पनि सशक्त बन्दै गएका छन् । पक्की पुलहरू निर्माण भएपछि स्थानीयले कहिल्यै साँच्न नसकेको सहजता अनुभव गरिरहेका छन् । हिजो हिउँद र बर्खामा खोला तरेर विद्यालय जानुपर्ने बालबालिका, बिरामी लिएर खोलाको किनारमै एम्बुलेन्स रोक्ने बाध्यता र कृषकले खेतको उत्पादन बजारमा पु¥याउन जोखिम मोल्नुपर्ने अवस्था अब क्रमशः इतिहास बन्न थालेको छ । बैजनाथ गाउँपालिका ५ की स्थानीय वासिन्दा बेलमती थापा भन्छिन्, “हिजो हामी खोलाको बाढी सुकेर कम भएपछि मात्र गइरहेका हुन्थ्यौँ, अहिले भने पानीजति भए पनि पुलबाट सिधै जान सकिन्छ ।
हाम्रो जीवन यत्ति सहज हुने हो भनेर कहिल्यै सोचेका थियौँ र !” बाँकेको ग्रामीण भूगोलमा विकासको गति अन्य जिल्लाभन्दा ढिलो भए पनि अहिले यहाँका नागरिकले एकपछि अर्को परिवर्तनको महसुस गर्न थालेका छन् । खोल्सा र बाढीले टुक्र्याएका भू–भाग पुलमार्फत जोडिँदा बाँके विकासको नयाँ चरणमा उक्लिँदै छ । अब बाँकेका नागरिकहरूका लागि पुल केवल आवागमनको बाटो होइन, यो त बाँकेवासीहरूको सपना, सम्भावना र सम्मानको पुल हो, जो ग्रामीण जीवनलाई सहरसँग मात्र होइन, उज्यालो भविष्यसँग पनि जोडिरहेको छ ।