© २०२३
पाल्पा, २८ असार ।
डिभिजन वन कार्यालयले खानीजन्य बस्तु उत्खनन तथा ओसारपसारका लागि अर्को सूचना नभए सम्मका लागि रोक लगाएको छ । जिल्लामा १० वटा खानी सञ्चालनमा आएका छन् । खानी उद्योगलाई तत्कालीन जिल्ला समितिले वर्षायाम असार १ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालनका लागि रोक लगाउँदै आएको थियो । सङ्घीय सरकारको निर्माणसँगै खानी उद्योग बढ्दै जाँदा उद्योगहरूले आफूखुसी गर्दै आएका थिए ।
वर्षायाममा सडक क्षमता भन्दा बढी भारवहन भएका टिप्पर गुड्न नछोडे पछि सबैको ध्यानाकर्षण भएको थियो । सर्देवामा विनोद चौधरीको स्वामित्वमा सञ्चालित उद्योगका लागि इन्धनका रूपमा प्रयोग हुने कोइला ढुवानी गर्ने साधनले सडकको क्षमता भन्दा बढी भार ढुवानी गर्दा सडकका मोडहरूमा खसेको खसेको कोइलाले नै बाटो नै कालो गराएको छ । त्यही टिप्पर फर्कदा चुन ढुंगा लिएर फर्कने गर्दछ । सडक र सवारीका साधन भन्दा खानीजन्य बस्तुको ओसारपसार गर्दा पटक–पटक मोटरसाइकलमा सवार गर्ने व्यक्तिमाथि खस्ने गरेको दोभान प्रहरीले बताए ।
यातायात व्यवस्था विभागले सडक क्षमता भन्दा बढी ढुवानी गर्ने साधनलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले त्यसका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको बताए । डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईले भने वन सुरक्षा समन्वय समितिको बैठक बाट आउने आगामी साउन १ गते बाट अर्को सूचना नआए सम्मको लागि उत्खनन ओसारपसार तथा ढुवानी गर्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा, सुरक्षा निकाय, वन कार्यालय, वन कार्यालयमा सम्मिलित वन सुरक्षा समितिको बुधबार बसेको बैठकले निर्णय गरेको वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङले बताए । यस अगाडि बुटवल टुडेमा यस सम्बन्धी समाचार प्रकाशित भएको र समाचारको प्रभावको कारण वन सुरक्षा समन्वय समितिको बैठक बसेको हो ।