© २०२३
सल्यान, २८ असार ।
गत बर्ष आठ लाख बढी आम्दानी गरेकी सल्यान त्रिवेणीकी एक महिला बङ्गुर पालन व्यवसायलाई अझै बढाउने सोचमा छिन् । त्रिवेणी गाउँपालिका– ३, लोटाउनेकी सावित्रा महतराको खोरमा हाल ५० बङ्गुर रहेका छन् । विगतमा थोरै सङ्ख्याबाट बङ्गुर पालन गर्दै आएकी महतराले २०७४ सालबाट भने महतरा कृषि तथा पशुपक्षी फर्म नै दर्ता गरेर व्यावसायिक बङ्गुर पालन थालेकी हुन् । “मसँग अहिले साना ठुला गरी ५० वटा बङ्गुर रहेका छन् उनले भनिन् , ‘यो वर्षको वैशाख र जेठ महिनामा मात्रै तीन लाखको बङ्गुर बिक्री भइसकेको छ । वर्ष भरी १२ देखि १४ लाखसम्म आम्दानी हुने अनुमान गरेकी छु ।’
गत वर्ष मात्रै आठ लाखभन्दा बढीको बङ्गुर बिक्री गरेको जनाउँदै उनले मासुका लागि ठुला बङ्गुर भन्दा पाल्नका लागि साना पाठा पाठीको माग बढी हुने गरेको बताइन् । उनले भनिन्, ‘मासुका लागि भन्दा पनि पालनका लागि साना पाठा पाठीको माग धेरै हुने गर्दछ । एक जोडी पाठा पाठी चार हजारदेखि पैँतालिस सयसम्ममा बिक्री भइरहेको छ ।’
गाउँघरमा पाइने खाद्यान्न तथा बारी तथा जङ्गलमा खेर गइरहेको सिस्नो उपयोग गरेर दाना खुवाउने गरेको उनको भनाइ छ ।
‘फोहोर बढी गर्ने भएकाले पहिले बङ्गुर पालन गर्न अलि गाह्रो भएको थियो, अहिले बानी परिसकेको छ । सरसफाइका लागि सामग्री प्रयोग गर्दै आइरहेकी छु, उनले भनिन् ।’ बङ्गुर व्यवसायलाई अझै विस्तार र व्यवस्थित गर्ने सोच रहेको उनको भनाइ छ । कुनै सिजन बिक्रीका लागि केही समस्या हुने भए तापनि बजारीकरणका लागि भने अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको महतराको भनाइ छ ।