Butwal Today

हाई कम्प्युटिङ खरिदमा भ्रष्टाचार : सुनिल पौडेलसहित ७ जनाविरुद्ध मुद्दा दायर

२७ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा अर्बौंको हाई कम्प्युटिङ इन्फ्रास्ट्रक्चर खरिद गर्दा गुरुयोजना नबनाई बोलपत्र प्रक्रिया अघि बढाइएको, स्पेसिफिकेसन तोक्ने क्रममा मिलेमतो गरिएको र तोकिएको मापदण्ड विपरीत गुणस्तरहीन सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरिएको ठहर छ।

बोलपत्रदाताले तोकिएको भन्दा कम क्षमताको प्रोसेसर आपूर्ति गरेको पाइएपछि, झुट्टा कागजात र विवरण प्रस्तुत गरेर अस्वाभाविक मूल्य निर्धारण गरिएको आयोगको आरोप छ। खरिद प्रक्रिया अन्तर्गत वर्ल्ड डिस्ट्रीव्युसन नेपाल प्रालिले ३० करोड ६५ लाख ५५ हजार रुपैयाँको ठेक्का लिएको थियो। २०७६ माघ १५ गते सम्झौता भए पनि त्यसअघि नै स्पेसिफिकेसन निर्धारणदेखि मूल्यांकनसम्मका प्रक्रिया मिलेमतोमा गरिएको पाइएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, र वर्ल्ड डिस्ट्रीव्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठ रहेका छन्।

आयोगले आरोपपत्रमा सबै प्रतिवादीहरूले नेपाल सरकारलाई आर्थिक हानि पुर्‍याउने नियतले मापदण्ड विपरीत प्रक्रिया अघि बढाएको र सार्वजनिक स्रोतको दुरुपयोग गरेको उल्लेख गर्दै, दफा ८ अनुसार सजाय माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?