© २०२३
काठमाडौं ।
कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी असन्तोषका कारण एक महिना लामो आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरू आजदेखि पुनः व्यवसायमा फर्किएका छन्। सरकारसँग भएको ६ बुँदे सहमतिपछि व्यवसायीहरूले पसल खोल्न थालेका हुन्।
बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सहमतिपछि आन्दोलन स्थगनको घोषणा गरिएको थियो। नयाँ आर्थिक वर्षको बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा जडित गहनामा १३ प्रतिशत भ्याट लगाइएकोप्रति आपत्ति जनाउँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए।
सरकारसँगको सहमतिअनुसार कर र भ्याटबारे अध्ययन गर्न कार्यदल गठन गरिनेछ। सो कार्यदलले प्रतिवेदन नदिएसम्म करका नयाँ दरहरू लागू नहुने व्यवस्था गरिएको छ। साथै, विलासिता वस्तुको परिभाषाभित्र समावेश गरिएका सुन र गहनाबारे पुनरवलोकन गर्ने निर्णय पनि सहमतिमा उल्लेख गरिएको छ।
त्यस्तै, स्थानीय बजारमा सुनको पहुँच सजिलो बनाउने, मूल्य निर्धारण पारदर्शी बनाउने र व्यवसायीका अन्य सरोकार सम्बोधन गर्न सरकार तयार भएको छ। सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।