© २०२३
बुटवल, २७ असार ।
पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि. अन्तर्गत कार्यरत कर्मचारी तथा मजदुरहरुलाई आफुसहित यात्रुको जीवन र कमाएको पैसा दुबै बचाउने उपायबारे प्रशिक्षण दिइएको छ । बिगतमा आफु मातहतका यातायात मजदुरहरुलाई दुर्घटना न्यूनिकरण र सवारी ब्यवस्थापनबारे प्रशिक्षण दिँदै आएको प्रा.लि.ले यसबर्ष आफु दुःख पर्दाको साथी बन्ने योजनाका साथ कार्यक्रम संचालन गर्ने भएको छ ।
दैनिक हजारौं यात्रुलाई गन्तव्यमा पु¥याउने गाडीका चालक र सहचालकहरुको आफ्नो जिन्दगी प्रायः अनिश्चितताको मोडमा हुने भएकोले दुर्घटना पश्चात सामाजिक र पारिवारिक सुरक्षाको प्रत्याभुती दिलाउन रु. २२ लाखसम्मको आर्थिक सुरक्षा योजना लागु गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लिले जनाएको छ । प्रा.लि.का अनुसार हरेक यातायात मजदुर, कर्मचारी र ब्यवसायीले महिनाको १ हजारमात्र बचत गरेर रु. १५ लाखदेखि २२ लाखसम्म बिमा, क्षतिपुर्ती र राहत प्याकेज उपलब्ध गराउने योजना कार्यान्वयन गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशिक्षक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले प्रहरी, यातायात मजदुर र यात्रु सबै अनुशासित भएमा दुर्घटना न्यूनिकरण हुने बिश्वास ब्यक्त गरे । उपरीक्षक शर्माले सरकार अनुशासित भए प्रहरी अनुशासित हुने, प्रहरी अनुशासित भए सडक यातायात अनुशासित हुने र यातायात मजदुर र यात्रु अनुशासित भए दुर्घटना न्यूनिकरण हुने बताए । तालिमले ट्राफिक नियम र सावधानी मात्र होइन, आत्मविश्वास र आत्मसम्मान समेत बढाउने कुरामा जोड दिँदै उपरीक्षक शर्माले भने—“अनुशासन र सजगता नै दुर्घटना न्यूनीकरणको पहिलो आधार हो” ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले आफु मातहतका यातायात श्रमिकहरुको ब्यक्तिगत र पारिवारिक जीवनमा आर्थिक सुरक्षा र सामाजिक मर्यादा थप्ने अभियान सुरु गरेको बताए । यातायात क्षेत्रमा बढ्दो दुर्घटना र त्यसले निम्त्याउने क्षतिलाई न्यूनीकरण गर्न प्रा.लिले लामो समयदेखि सवारी चालक तालिम प्रदान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष खरेलले अव दुर्घटना न्यूनिकरणका सवालमा मात्र नभै मजदुर तथा कर्मचारीहरुको आर्थिक सामाजिक सवालमा पनि प्रा.लि.ले उल्लेख्य प्याकेज कार्यान्वयनमा ल्याएको जानकारी दिए । अध्यक्ष खरेलले भने—“ आफुसहित यात्रुको जिवन बचाउन र पैसा बचाउन सँगसँगै सिकाउदै छौं ।”
प्रा.लि. अन्तर्गत लामो दूरी तथा रात्री सेवाका यात्रुबहाक बसहरु चलाउने करिब २ सय चालक र सहचालक सहभागी भएको सो कार्यक्रममा प्रशिक्षक एवं ट्राफिक प्रहरीका वरिष्ठ सहायक निरिक्षक ज्ञानु पाण्डेले चालक सहचालकहरुलाई आफ्नो पेशा र जिम्मेबारी प्रति गम्भिर भएर लाग्न आग्रह गरे । प्रा.लि.का सवारी ब्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका संयोजक नारायण घिमिरेले पटक पटकको तालिमले यातायात मजदुर तथा कर्मचारीहरुको ब्यवहारमा सुधार आएको उल्लेख गर्दै सडक अनुशासन पालना गर्न आग्रह गरे ।
कार्यक्रमका सहसंयोजक नारायण भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हुमबहादुर क्षेत्रीलगायतले यातायात क्षेत्रमा मर्यादा, सुरक्षा र सामाजिक जिम्मेवारी सहित तालिम र सहकारी संयोजन गरेर नयाँ दिशा देखाएको बताए । साथै सवारी दुर्घटनाका कारण र समाधानबारे चर्चा गर्दै तालिमले मानव सभ्यता सवारी अनुशासनबाट सुरु हुन्छ भन्ने सन्देश दिएको उल्लेख गरेका थिए ।