Butwal Today
सन्दर्भः अन्तर्राष्ट्रिय जनसंख्या दिवस

ओरालो लाग्दै पहाडको जनसंख्या

२७ असार २०८२, शुक्रबार
अ+
अ-

राष्ट्रिय जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशको जनसंख्या ५१ लाख २२ हजार ०७८ छ. । जनसंख्याको हिसाबमा लुम्बिनी प्रदेश नेपालमा तेश्रो धेरै जनसंख्या हुने प्रदेश बनेको छ । जनगणना अनुसार लुम्बिनी प्रदेशमा नेपालको १७.५६ प्रतिशत जनसंख्या रहेको छ । लुम्बिनी प्रदेशमा एक दशकमा ६ लाख २२ हजार ८०६ जनसंख्या थपिएको छ । वि.स. २०६८ मा प्रदेशमा बसोबास गर्ने परिवारसंख्या ८ लाख ८५ हजार ५०२ रहेकोमा वि.स. २०७८ मा ११ लाख ४१ हजार ९०२ पुगेको छ, जुन नेपालको परिवार संख्याको १७.१ प्रतिशत हो ।

जनसंख्या धेरै भएका जिल्लाहरुमा रुपन्देही जिल्ला नेपालमै तेश्रो स्थानमा पुगेको छ । यहाको जनसंख्या ११ लाख २१ हजार ९५७ छ, जुन नेपालको कूल जनसंख्याको ३.८५ प्रतिशत हो । नेपालमै उच्च वार्षिक जनसंख्या वृद्धिदर हुने जिल्लामा रुपन्देही दोश्रो स्थानमा रहेको छ । यहाको वार्षिक जनसंख्या वृद्धिदर २.३३ प्रतिशत रहेको छ ।

पछिल्लो दसकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेकोमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १.२४ प्रतिशत रहेको छ । पछिल्लो दशकमा मात्र लुम्बिनी प्रदेशमा ६ लाख २२ हजार ८०६ मानिस थपिएका छन् । जनसंख्या वृद्धिदर उच्च हुने जिल्लाहरु मध्ये रुपन्देही, बाँके , दांग र कपिलवस्तु क्रमश दोश्रो, चौथो, छैटौ र दशौ स्थानमा रहेका छन् । पालिकाहरु मध्ये जनसंख्या वृद्धिदर सबैभन्दा उच्च भएका नेपालका अघिल्ला ३ गाउँपालिकाहरुमा रुपन्देहीको कन्चन, दाङ्गको राप्ति र बाँकेको बैजनाथ गाउँपालिका रहेका छन् । यी पालिकाहरुको जनसंख्या वृद्धिदर क्रमश २.४१ प्रतिशत, २.३६ प्रतिशत र २.३४ प्रतिशत रहेको छ ।

विगतमा गुल्मी, पाल्पा र अर्घाखाचीको जनसंख्या वृद्धिदर सुस्त भएपनि अहिले आइपुग्दा जनसंख्या वृद्धिदर ऋणात्मक नै भएको छ । जनसंख्या ऋणात्मक हुने नेपालका ३४ जिल्लाहरुमध्ये गुल्मी सातौ, अर्घाखाची दशौ र पाल्पा अठारौ जिल्ला बनेका छन् । लुम्बिनी प्रदेशका ३० वटा पालिकाहरुको जनसंख्या अघिल्लो जनगणनामा भन्दा घटेको छ । जनसंख्या ऋणात्मक हुने पालिकाहरु रोल्पाको एक, प्युठानका ३, अघाखाँचीका ५, पाल्पाका ९ र गुल्मीका १२ वटा पालिकाहरु रहेका छन् । पछिल्लो दशकमा सबैभन्दा धेरै जनसंख्या गुल्मीको कालिगण्डकी गाउँपालिका र पाल्पाको निस्दी गाउँपालिकाले गुमाएका छन् ।

पहाडी क्षेत्रबाट निरन्तर तराईतर्फ भैरहेको बसाईसराईले गर्दा पहाडी क्षेत्रको जनसंख्या निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो दशकमा पहाडी जिल्लाहरुको खुद बसाईसराई दर ऋणात्मक रहेको छ. बसाईसराई दर उच्च ऋणात्मक भएका गुल्मी र अर्घाचाची जिल्लामा जनसंख्या उच्च दरमा घटिरहेको देखिएको छ. यी जिल्लाहरुमा खण्डहर बन्दै गएका घरहरु र सुनसान हँुदै गएका वस्तीहरु अचेल धेरै भेटिन थालेका छन् ।

जनसंख्या वृद्धि ऋणात्मक हुनुमा उच्च उत्प्रवासन दर नै मुख्य कारक देखिएको छ. पहाडी क्षेत्रको जनसंख्याको ठुलो हिस्सा बसाई सरेर बाहिरी जिल्लाहरुमा बस्न गइरहेको छ. जनगणना अनुसार गुल्मीको कूल जनसंख्याको ५१ प्रतिशत जिल्ला बाहिर रहेको छ. यसैगरी अर्घाखाँचीको ४२.७ प्रतिशत, पाल्पाको ३६.८ प्रतिशत, रुकुमको ३४.४ प्रतिशत, प्युठानको २२.९ प्रतिशत र रोल्पाको २०.८ प्रतिशत जनसंख्या बसाई सरेर अन्य जिल्लामा गैसकेको देखिन्छ. । बसाईसराईको यो तथ्यांकले पहाडी क्षेत्र कसरी रित्तिदै गएको छ भन्ने कुराको स्पष्ट संकेत गर्दछ.

देशका अन्य भूभागमा जाने मात्र नभएर लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुबाट बिदेशमा जानेहरुको जनसंख्या समेत उच्च रहेको देखिन्छ. रोल्पाबाट २० हजार २४ जना, प्युठानबाट ३१ हजार ७५० जना, गुल्मीबाट ४१ हजार ५५० जना, अर्घाखाँचीबाट २९ हजार ९३४ जना र पाल्पाबाट ३० हजार ६९८ जना बिदेशमा गएको जनगणनाले देखाएको छ.। एकपटक विदेश गएको मानिस पहाडी जिल्लामा बसोबास गर्नेगरी विरलै फर्कने गर्दछन् । परिवारका एक सदस्य विदेश गएपछि बाँकी सदस्यहरु तराई र शहरी क्षेत्रमा बसाई सरेर जाने भएकोले विदेश जाने दर बढ्दा जिल्ला छोड्नेहरुको संख्या पनि उच्च हँुदै गएको छ.

बसाईसराइले प्रदेशको जनसंख्याको लैंगिक बनावटमा समेत प्रत्यक्ष असर पारेको छ. प्रदेशमा महिलाको जनसंख्या पुरुषको जनसंख्या भन्दा धेरै भएको छ । यस प्रदेशको जनसंख्याको लैंगिक अनुपात ९२.०१ रहेको छ । तराईका जिल्लाहरुमा लैंगिक अनुपात राष्ट्रिय औसतकै हाराहारीमै भए पनि पहाडी जिल्लाहरुमा महिलाहरुको अनुपातमा पुरुषको जनसंख्या कम भएको जनगणना नतिजाले देखाएको छ । प्युठान जिल्लाको लैंगिक अनुपात प्रदेशमै सबैभन्दा कम (८१) रहेको छ । लैंगिक अनुपात ८५ भन्दा कम हुने जिल्लाहरुमा गुल्मी र अर्घाखाँची रहेका छन् भने दांग बाहेक अन्य तराईका जिल्लाहरुको लैंगिक अनुपात ९५ भन्दा माथि रहेको छ । प्रदेशका पहाडी जिल्लाका पालिकाहरुमा अधिकांश पालिकाहरुको लैंगिक अनुपात ८५ भन्दा कम रहेको देखिन्छ । प्रदेशमै सबैभन्दा कम लैंगिक अनुपात हुने पालिकाहरुमा प्युठानको स्वर्गद्वारी नगरपालिका छ, यहाँ प्रति सय महिलामा पुरुषको अनुपात ७३ मात्र रहेको छ । जनगणनाले पहाडी वस्तीहरुमा पुरुषको संख्या निरन्तर घट्दै गएको प्रष्ट देखाएको छ ।

पहाडी जिल्लाहरुमा जनसंख्या घट्नु मुख्य कारण यहाँको घट्दो प्रजनन दर पनि देखिन्छ. लुम्बिनी प्रदेशको कूल प्रजनन दर १.८४ रहेको छ. रुकुम र रोल्पाका महिलाको कूल प्रजनन दर प्रदेशको औसत भन्दा बढी रहेको भए पनि प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पामा महिलाहरुको प्रजनन दर क्रमशः १.८ जना, १.७३ जना, १.७६ जना र १.७६ जना मात्र रहेको छ. जन्मदर घट्दै जानु र बसाइसराई दर उच्च हुँदै जाँदा आगामी दिनहरुमा पहाडी जिल्लाहरुको जनसंख्या अझै तीव्र दरमा घट्ने देखिन्छ. यसले भविष्यमा पहाडमा आर्थिक सामाजिक समस्या गम्भीर बन्ने प्रस्ट संकेत गरेको छ ।