© २०२३
बुटवल, २७ असार ।
बिहीबार दिउँसो बचतकर्ताले व्यवस्थापक वसन्त पराजुलीको घर घेराउ .गरेकोमा साँझदेखि राति १ बजेसम्म अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापाको घर घेराउ गरेका हुन् । सयौंको संख्यामा बचतकर्ता घर घेराउ गर्न पुगेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
सहकारी संस्थाका शेयर सदस्य भानुभक्त पाण्डेले बचतकर्ताको बचत ठगी गरेर फरार भएपछि बाध्य भएर अध्यक्ष र सचिवको घर घेराउ गरिएको बताए । उनले बिहीबार दिउँसो बचत अपचलन भएको विषयमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले दर्ता गर्न नमानेको बताए । सहकारीका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यहरु तथा विभिन्न शेयर सदस्यहरुले संयुक्त जाहेरी दर्ता गर्न खोज्दा पनि प्रहरीले लिन नमानेको उनले बताए ।
प्रहरीले दर्ता नलिएको जाहेरीमा माइन्यूट लगायत संस्थाका महत्वपूर्ण कागजातहरु अध्यक्ष र सचिवले च्यातेको समेत पाइएको उल्लेख गरिएको छ । साथै जनताको बचत तथा शेयर रकम अपचलन गरी ठगी गरेकोले व्यवस्थापक र सञ्चालक समितिका अध्यक्ष र सचिवको मिलिमतोमा किर्ते ऋणी खडा गरी ठगी गरी रहेको, निज दोषीहरुले आफ्नो नाममा रहेको चल–अचल सम्पत्ति अन्य आफन्त ब्यक्तिहरुको नाममा सारेको तथा सार्ने दुष्प्रयास गरिरहेको , आ–आफ्ना श्रीमतीहरुलाई सुनियोजित सम्बन्ध बिच्छेद लगायतका अनैतिक प्रयासहरु गरेको पाइएको उल्लेख छ । तसर्थ सेयर सदस्यहरुको रकम सुरक्षित गरिदिनको लागि निजहरुको जायजेथा(चल–अचल सम्पत्ति) रोक्का तथा देश बाहिर फरार हुन नदिनका लागि निजहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाहीको लागि माग गरिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सहकारी ठगीको विषय सहकारी ऐन अन्तर्गत प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले लेखेर पठाउनुृ पर्ने बताए । रजिष्ट्रार कार्यालयबाट प्रारम्भिक अनुसन्धान भैरहेकाले त्यहाँबाट प्रतिवेदन आइसकेपछि बल्ल जाहेरी दर्ता लिन सकिने बताए । यद्यपि यस विषयमा सरकारी वकिल कार्यालयसँग राय लिने काम समेत भैरहेको भन्दै प्रहरी नायब उपरीक्षक रानाले त्यसपछि के गर्ने भन्नेबारे निर्णयमा पुगिने बताए ।
सहकारीका व्यवस्थापक वसन्त पराजुलीले मात्रै सहकारीको करिव १० करोड बचत अपचलन गरेको पाइएको बचतकर्ताहरुले बताएका छन् । उनले जेठ २ गते गरेको तमसुकमा विभिन्न व्यक्तिका नाममा करिव १० करोड क्रृण लिएको उल्लेख छ । व्यवस्थापक पराजुलीले श्रीमतीसँग नक्कली सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा निवेदन समेत दर्ता गरेको प्रहरी नायब उपरीक्षक रानाले बताए । त्यसपछि बचतकर्ताहरु थप आक्रामक बनेको उनको भनाई छ ।
सहकारीको ३० करोड भन्दा बढी बचत अपचलन भएको बताइएको छ ।
