© २०२३
रावलपिन्डी ।
पाकिस्तानको रावलपिन्डीमा एक बुबाले आफ्नी १६ वर्षीया छोरीलाई टिकटक खाता नहटाएको निहुँमा गोली हानी हत्या गरेका छन्। प्रहरीका अनुसार युवतीले टिकटक खाता मेटाउन अस्वीकार गरेपछि आफ्नै बुबाको गोली लागेर उनको ज्यान गएको हो।
एक प्रहरी प्रवक्ताले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई जानकारी दिँदै भने, “केटीका बुबाले उनलाई टिकटक खाता मेटाउन भनेका थिए, अस्वीकार गरेपछि उनले गोली हानी हत्या गरे।” प्रहरी रिपोर्ट अनुसार, हत्यालाई प्रारम्भमा आत्महत्या जस्तो देखाउने प्रयास परिवारले गरेको थियो। घटनापछि ती बुबा पक्राउ परेका छन्।
पाकिस्तानमा यस्तो प्रकारको हत्या प्रायः ‘सम्मानको रक्षा’ गर्ने बहानामा गरिन्छ। समाजमा महिला वा किशोरीहरूले सामाजिक सञ्जालमा सक्रियता देखाउनु केही परम्परावादी परिवारहरूलाई असह्य लाग्ने गर्दछ, जसले हिंसात्मक व्यवहार निम्त्याउँछ।
यो घटना यस्तो समय भएको हो जब टिकटकजस्ता एपहरू पाकिस्तानमा अत्यन्त लोकप्रिय छन्। विशेष गरी महिला प्रयोगकर्ताहरूले सामाजिक सञ्जालबाट न मात्र व्यक्तिगत अभिव्यक्ति गर्ने माध्यम पाएका छन्, तर यसमार्फत आर्थिक आम्दानी पनि गर्न थालेका छन्— जुन देशमा औपचारिक श्रम बजारमा महिला सहभागिता २५ प्रतिशतभन्दा कम छ।
तर यस्तो खुलापनलाई अझै पनि रूढिवादी सोचले सामाजिक कलंकको रूपमा हेर्ने चलन हटेको छैन। गत महिना मात्र एक १७ वर्षीया टिकटक इन्फ्लुएन्सर सना युसुफको हत्या भएको थियो। उनले एक व्यक्तिको प्रस्ताव अस्वीकार गरेपछि त्यसले घरमै पसेर हत्या गरेको थियो। युसुफका १० लाखभन्दा बढी फलोअर्स थिए र उनी क्याफे, सौन्दर्य सामग्री र परम्परागत लुगा सम्वन्धी सामग्री साझा गर्थिन्।
पाकिस्तानमा महिलाको स्मार्टफोन पहुँच पनि सीमित छ। मोबाइल जेन्डर ग्याप रिपोर्ट २०२५ अनुसार देशमा मात्र ३० प्रतिशत महिलासँग स्मार्टफोन छ, जुन पुरुषहरूको पहुँचभन्दा झन्डै आधा हो— र यो संसारकै सबैभन्दा ठूलो डिजिटल लैङ्गिक अन्तर हो।
यसबीच, पाकिस्तानी दूरसञ्चार नियामकहरूले ‘अनैतिक सामग्री’को कारण देखाउँदै टिकटकमाथि बारम्बार प्रतिबन्ध वा प्रतिबन्धको चेतावनी दिँदै आएका छन्।
यसप्रकारका घटनाले पाकिस्तानमा सामाजिक सञ्जाल, लैङ्गिक समानता र अभिव्यक्तिको स्वतन्त्रतामाथि गहिरो प्रश्न उठाएका छन्, जहाँ अझै पनि ‘सम्मान’को नाममा महिला हिंसा दोहोरिइरहेको छ।