© २०२३
काठमाडौं, २७ असार।
नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदलाई सहज बनाउन मौद्रिक नीतिमा लचिलो व्यवस्था ल्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले व्यक्तिले घर किन्न पाउने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड पुर्याइएको घोषणा गरेका हुन्।
पहिलो पटक घर किन्न लागेकाले अब घरको मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गरिएको छ, जुन अघिसम्म ६० प्रतिशत मात्रै थियो। यसले विशेष गरी नयाँ घर किन्ने व्यक्तिहरूका लागि ठूलो राहत हुने अपेक्षा गरिएको छ।
त्यस्तै, घरजग्गा खरिदका लागि दिइने कर्जामा पनि नयाँ लचकता अपनाइएको छ। मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण दिने पुरानो व्यवस्था हटाई अब मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकको यस निर्णयले रियल इस्टेट क्षेत्रमा पुनः गतिशीलता ल्याउने र व्यक्तिगत आवास स्वामित्वमा पहुँच बढाउने विश्वास गरिएको छ। यो कदम विशेषतः घरजग्गा बजारमा सुस्त भइरहेको कारोबारलाई चलायमान बनाउने रणनीतिसँग जोडिएको देखिन्छ।