Butwal Today

क्रिकेटर सुशील रावललाई ‘रुप्से होलिडे’ बाट १ लाख रुपैयाँ सहयोग

२७ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

युवा क्रिकेटर सुशील रावललाई रुप्से होलिडेले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको अपिल गरेपछि कम्पनीले यो सहयोग गर्ने निर्णय लिएको हो।

रावलले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप जिताउन नेपालको टोलीका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए। भारतमा प्रशिक्षण गर्न आवश्यक पर्ने खर्च जुटाउन उनले फेसबुकमा भावनात्मक अपिल गर्दै भनेका थिए, “माला र प्रमाणपत्र होइन, अहिले मलाई आर्थिक सहयोग चाहिएको छ।”

उनको अपिलप्रति संवेदनशील बन्दै रुप्से होलिडेका सञ्चालक रमेश पराजुलीले रावलको अवस्थाबारे जानकारी पाएपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग समन्वय गरेर सहयोग निर्णय गरिएको जानकारी दिए।

रावलले यू-१९ राष्ट्रिय टोलीको छनोटको तयारीका लागि भारतमा प्रशिक्षण गर्न आवश्यक करिब १ लाख रुपैयाँ खर्च लाग्ने बताए पनि आर्थिक अवस्था कमजोर भएको कारण सहयोगको आग्रह गरेका थिए। रावलको बसोबास कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनीमा रहेको छ। उनी बझाङबाट छनोट भई राष्ट्रिय टोलीमा पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?