Butwal Today

सुर्खेतमा पाँच केजि अफिम सहित एक पक्राउ

२६ असार २०८२, बिहीबार
अ+
अ-

सुर्खेत, २६ असार ।

सुर्खेत प्रहरीले पाँच केजि अफिम सहित एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषध अफिमको ओसार पसारमा संलग्न रहेको आशंकामा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि बुधवार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० मा अफिम कारोबार भइहेको सूचना प्राप्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले भेरीगंगास्थित तालबारीमा बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी जाँचगर्दा उनले बोकेको झोलाभित्र लुकाइ राखेको अफिमजस्तो देखिने ५ किलो ५ सय ४० ग्राम पदार्थ बरामद गरेको छ ।

बस्नेतको साथबाट अफिमतौल गर्न प्रयोग गरिने डिजिटल तराजु १ थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो ५ थान र नगद ४ हजार ७ सय ३० रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधीर राज शाहीले जानकारी दिए ।

उनीमाथि लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३, दफा १४, उपदफा ६(३) बमोजिम मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उक्त दफा बमोजिम १०० ग्रामभन्दा बढी अफिमको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्म सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।