Butwal Today

रसुवामा बाढी हिमताल विस्फोटकै कारण भएको विभागको प्रारम्भिक निष्कर्ष

२६ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

असार २४ गते रसुवामा आएको बाढी हिमताल विस्फोटबाटै सृजना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार दिएको अद्यावधिक विवरणमा बाढीको मुख्य कारण हिमताल विस्फोट रहेको निष्कर्ष निकालिएको हो।

दुर्घटना चीनको लेन्दे खोला क्षेत्रबाट सुरु भई नेपालको भोटेकोशी नदी हुँदै आएको बाढीले ठूलो जनधनको क्षति गराएको छ। विभागका अनुसार, यस घटनासम्बन्धी थप पुष्टि चीनबाट प्राप्त हुने स्थलगत प्रतिवेदनबाट हुने आशा गरिएको छ।

‘आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुने तस्बिरहरूले थप पुष्टि गर्न सहयोग पुर्‍याउनेछन्,’ विभागले जनाएको छ। घटनाको वैज्ञानिक मूल्यांकन तथा विश्लेषण निरन्तर जारी राखिने र आधिकारिक जानकारी समय–समयमा सार्वजनिक गरिने विभागको भनाइ छ।