बाँके, २६ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एन टिभी कोहलपुरको निरीक्षण गरेका छन् । बिहीबार बाँकेको कोहलपुर पुग्नु भएका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्य प्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका हुन्। मुख्यमन्त्री आचार्यलाई एन टिभी कोहलपुरका प्रमुख नीराजन खनालसहितको टोलीले स्वागत गरेको थियो ।
निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै देखिएका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर सरकारी सेवाहरूलाई अझ बढी पहुँचयुक्त र प्रभावकारी बनाउन प्रयत्नशील रहेको जानकारी पनि दिए ।
निरीक्षणमा मुख्यमन्त्री आचार्यसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्री, प्रदेश सभा सदस्य वसन्ती न्यौपानेलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो । एन टिभी कोहलपुरका प्रमुख खनालले सञ्चार गृहको वर्तमान अवस्था, उपलब्ध साधन(स्रोत, सामग्री उत्पादन र प्रसारणको अवस्था बारेमा जानकारी गराउँदै प्रदेशस्तरीय सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने दिशामा थप लगानी र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।