Butwal Today

भोटेकोशी बाढीले १० भन्दा बढी जलविद्युत् आयोजनामा ठूलो क्षति 

२६ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

चीनको तिब्बतबाट भोटेकोशीमा मङ्गलवार बिहान आएको बाढीले नेपालतर्फ सञ्चालनमा रहेका र निर्माणाधीन १० भन्दा बढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ।

इप्पानका अनुसार रसुवा र नुवाकोट जिल्लामा रहेका जलविद्युत् आयोजना मध्ये करिब २५० मेगावाट क्षमताका आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माण कार्यमा रोक लागेको छ।

रसुवागढी, त्रिशूली–थ्री ए, त्रिशूली जलविद्युत् केन्द्र, चिलिमे, माथिल्लो मैलुङ, देवीघाट र मैलुङ खोला जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भएको छ। यीमध्ये केही आयोजनाको विद्युत् प्रवाह हुने त्रिशूली–थ्री बी हब सबस्टेशनमा क्षति पुगेको कारण उत्पादन ठप्प भएको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार निर्माणाधीन माथिल्लो त्रिशूली ए, सुपर त्रिशूली र त्रिशूली–थ्री बी जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्‍याएर निर्माण कार्य रोकिएको छ।

इप्पानले सरकारले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था शीघ्र मिलाउन आवश्यक नीति तथा प्रक्रियागत सहजीकरण गर्न आग्रह गरेको छ। अध्यक्ष कार्कीले उत्पादन बन्दका कारण दैनिक करोडौँ रुपैयाँको घाटा बेहोर्नुपर्ने अवस्थाको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?