काठमाडौं ।
चीनको तिब्बत क्षेत्रदेखि ल्हेन्दे खोला हुँदै नेपाल प्रवेश गरी भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएका जलविद्युत् संरचनाको पुनःनिर्माण गरी उत्पादन र प्रसारण व्यवस्था मिलाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले सरकारसँग आग्रह गरेको छ।

इप्पानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्न र थप जनधनको क्षति हुन नदिन तत्काल कदम चाल्न सरकारलाई अनुरोध गरेको हो।
बाढीले रसुवा र नुवाकोट जिल्लाका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। इप्पानका अनुसार, करिब २५० मेगावाट क्षमताका सञ्चालित जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्।
इप्पानका अध्यक्ष गणेश कार्कीले रसुवागढी, त्रिशूली–३ ए, त्रिशूली जलविद्युत् केन्द्र, चिलिमे, माथिल्लो मैलुङ, देवीघाट र मैलुङ खोला जलविद्युत् आयोजनाको उत्पादन रोकिएको जानकारी दिएका छन्। तीमध्ये अधिकांश आयोजनामा निजी क्षेत्रको समेत लगानी रहेको छ।
कार्कीका अनुसार, त्रिशूली ३ बी सवस्टेशनमा क्षति पुगेका कारण देवीघाट, त्रिशूली र माथिल्लो मैलुङ जलविद्युत् आयोजना प्रभावित भएका हुन्। साथै, निर्माणाधीन माथिल्लो त्रिशूली–१, सुपर त्रिशूली, त्रिशूली–३ बी आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा निर्माण कार्य ठप्प भएको छ।
सवस्टेशन र प्रसारण लाइनमा क्षति भएकाले यहाँबाट आगामी केही दिनसम्म विद्युत् उत्पादन तथा आपूर्ति सम्भव नरहने र हरेक दिन करोडौँ रुपैयाँको घाटा हुने कार्कीको भनाइ छ। इप्पानले समयमै पहल नगरे थप आर्थिक र पूर्वाधारिक क्षति बढ्ने चेतावनी पनि दिएको छ।




