Butwal Today

पर्रोहा बोलबम धाममा जलापर्ण यात्रा सुरु

२६ असार २०८२, बिहीबार
अ+
अ-

सैनामैना, २६ असार ।

रुपन्देहीको सैनामैना–१ मा अवस्थित स्वयं उत्पत्तिमान् पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा श्रावणी जलापर्ण यात्रा तथा श्रावणी मेला बिहीबारदेखि सुरु भएको छ ।

पश्चिम नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक, एवम् पुरातात्तिक महत्वको प्रसिद्ध तिर्थस्थल पर्रोहा बोलबम धाममा गुरु पुर्णिमादेखि सुरु हुने श्रावणी जलापर्ण यात्रा कार्यक्रम २०८२ सुरु भएको पर्रोहा बोलबम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्कीले बताए । श्रावणी जलापर्ण यात्राको उदघाटन सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख प्रसाद शर्माले स्वयं् उत्पत्तिमान् पर्रोहा बोलबम धाम सैनामैनाकै गहना भएकाले श्रावणी जलापर्ण कार्यक्रममा सैनामैनाबासीलाई सहभागी हुन आग्रह गरे । यस धामको गरिमा र महिमालाई विश्वसामु प्रचारप्रसार गरेर धार्मिक पर्यटन प्रबद्र्धनमा सबै लाग्नुपर्ने उनले बताए ।

बोलबम धामलाई सैनामैनाकै प्रमुख धार्मिक अस्थाको केन्द्र बनाउने गरि नगरपालिकाले विकासलाई प्रथामिकतमा राखेर अगाडि बढेको उनले बताए ।

मेयर शर्माले भने–“यस धामको महिमा, इतिहास र महत्व छुट्टै छ । यहाँ दर्शन गर्नाले सुख शान्ति र मनोकामना पुरा हुने धार्मिक विश्वास छ । यसर्थ पर्रोहा धामको विश्वभर प्रचार गरेर भारतको कुम्भमेला जस्तै सनातन धर्मावलम्बी सैनामैनामा ल्याउने वातावरण बनाउनुपर्छ । जसले यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।

पर्रोहा बोलबम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्कीले गुरु पुर्णिमादेखि जानै पुर्णिमासम्म १ महिना चल्ने श्रावणी जलापर्ण कार्यक्रम कपिलवस्तुको लक्ष्मण घाटको यात्राबाट सुरु गरिएको बताए । यस वर्ष नजिकैका धार्मिक तिर्थस्थालहरुलाई प्रबद्र्धन गर्ने गरी धार्मिक तथा जलार्पण कार्यक्रम राखिएकोले सबै भक्तजनहरुलाई सहभागी हुन आग्रह गरे ।

कार्यक्रममा सैनामैना–४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले सैनामैनाका धार्मिक, ऐतिहासिक र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न घुमौ सैनामैना रमाउ कार्यक्रम नगरपालिकाले ल्याएको बताए । यसले यहाँका माठमन्दिर, तालतालैया, सिमसार क्षेत्र र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा टेवा पुग्नाले सैनामैनाबासीले नगरका यी क्षेत्रको अवलोकन गर्न सुझाव दिए ।

मन्दिरका संरक्षक तथा व्यासाचार्य धर्मगुरु किशोर कुमार गौतमले साउन १ देखि ७ गतेसम्म मन्दिरमा नन्दी भगवानको विशेष पुजाका साथ प्राणप्रतिष्ठा गरिने भएकाले धार्मिक कार्यमा सबैजना सरिक भएर यस धामको गरिमालाई उचो बनाउन लाग्नुपर्ने बताए ।

हरेक वर्ष साउन महिनाभर कपिलवस्तुको लक्ष्मण घाट, सैनामैनाको कालिदह, रुपन्देहीको रामघाट, नवलपरासीको त्रिवेणी, तनहुँको देवघाट, गुल्मीको रिडी ऋषिकेश, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्युठानको स्वर्गद्धारी, काठमाण्डौको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरुबाट गंगाजल ल्याई शिव मन्दिरमा जलापर्ण गर्ने कार्यक्रम रहेको छ ।

लाखौको संख्यामा देशभर लगायत छिमेकि मित्र राष्ट्र भारतका गंगा, जमुना, काशी, गया, हरिद्धार लगायतका स्थानहरुबाट पनि श्रदालु भक्तजनहरुले जलापर्ण गर्ने गर्दछन् ।

बिशेष गरी साउन महिनाको सोमबारका दिन पहेलो गेरुवावस्त्र धारण गरि, खाली खुट्टा बोलबमको मन्त्र जप्दै यात्रा गरी धामको शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ती हुने र बाढी पहिरो, नदिकटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र बर्षायामा लाग्ने विभिन्न रोग व्याधिबाट मुक्ति मिल्ने जन विश्वास रहेको छ ।

एक महिने श्रावणी मेलामा शिव महापुरण, रुद्राभिषेक, दैनिक आरती, भजनकृतन र धार्मिक साँस्कृतिक कार्यक्रम हुनेछ ।