© २०२३
काठमाडौँ ।
देशको अर्थतन्त्रको आकार एक वर्षमै ४ खर्ब रुपैयाँले वृद्धि भएको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गएको आर्थिक वर्षमा ५७ खर्ब रुपैयाँ रहेको अर्थतन्त्र चालू आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको छ।
त्यसैगरी राजस्व संकलन पनि एक वर्षको अवधिमा १ खर्ब ८ अर्ब रुपैयाँले बढेको छ। पूँजीगत खर्च ३६ अर्बले वृद्धि भएको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा ८.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यो वृद्धि दर ५.६ प्रतिशत मात्र थियो।
रेमिट्यान्स १५.५ प्रतिशतले बढेको छ। निर्यातमा ७७.८ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ भने आयात पनि १३.१ प्रतिशतले बढेको देखिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षणमा आधारित १८ आर्थिक सूचकहरू पनि सकारात्मक देखिएका छन्। तीमा यातायात, निर्माण, खानी, ऊर्जा, व्यापार, बैंक तथा बीमा, सूचना प्रविधि, कृषि, औद्योगिक उत्पादन, स्वास्थ्य, शिक्षा, प्रशासनिक सेवा लगायत क्षेत्र समावेश छन्।
अर्थ मन्त्रालयका अनुसार, लगानीमैत्री वातावरण सुदृढ हुँदै गएको, तथा नीतिगत र कानूनी सुधारको प्रक्रियामा प्रगति भएको छ। यस क्रममा सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन, भन्सार महसूल ऐन, बैंकिङ कसूर तथा सजाय ऐन लगायत धेरै कानुनहरू संशोधन वा अगाडि बढाएको उल्लेख गरेको छ।
साथै, वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा पेश भएको, उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन भई प्रतिवेदन कार्यान्वयनमा गएको, निजी तथा निर्माण क्षेत्रको गुनासा र मागको सुनुवाइ, तथा अघिल्लो वर्षको ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिएको मन्त्रालयको दाबी छ।
यद्यपि, ग्रे लिस्टबाट बाहिरिनुपर्ने चुनौती र लक्ष्यअनुसारको राजस्व सङ्कलन तथा पूँजीगत खर्चमा निरन्तरता दिनुपर्ने आवश्यकतालाई पनि मन्त्रालयले संकेत गरेको छ।