© २०२३
सियोल ,२६ असार।
दक्षिण कोरियाको सियोल केन्द्रीय जिल्ला अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई बिहीबार बिहान पुनः पक्राउ गर्न अनुमति दिएको छ। डिसेम्बरमा मार्शल ल लागू गर्ने प्रयाससँग सम्बन्धित अभियोगमा उनलाई नयाँ गिरफ्तारी अनुमोदन गरिएको हो।
विशेष अभियोजकको दाबी अनुसार युनले प्रमाण नष्ट गर्ने सम्भावना भएकाले अदालतले नयाँ गिरफ्तारीलाई स्वीकार गरेको हो। मार्चमा रिहा भएको युनलाई चार महिनापछि राजधानी नजिकैको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।
यसअघि जनवरीमा उनलाई गिरफ्तार गरिएको थियो, तर सो गिरफ्तारी खारेज गरेर विद्रोह मुद्दामा उनलाई हिरासतमा नराखी सुनुवाइका लागि अनुमति दिइएको थियो।
युनमाथि आधिकारिक कर्तव्यमा बाधा पुर्याउने, शक्तिको दुरुपयोग र कागजात जालसाजीजस्ता आरोपहरू छन्। विशेष अभियोजक चो युन–सुकको नेतृत्वमा रहेको टोलीले उनलाई दुईपटक सोधपुछ गरिसकेको छ।
उनका वकिलहरूले गिरफ्तारीलाई आधारहीन र अत्यधिक भन्दै विरोध जनाएका छन्। युनलाई संवैधानिक अदालतले महाभियोगसँगै अप्रिलमा पदबाट हटाएको थियो।
यो नयाँ गिरफ्तारीले युनलाई लामो समय हिरासतमा राख्न सक्ने सम्भावना छ। प्रारम्भमा २० दिन हिरासतमा राख्न सकिने नियम छ भने दोषी ठहर भएमा छ महिनासम्मको हिरासत हुनसक्छ।
विशेष अभियोजकले उनलाई थप आरोप लगाउने तयारी गरिरहेका छन्। आगामी दिनमा उनलाई पुनः सोधपुछ गर्ने योजना छ।युनले डिसेम्बरमा आफ्नो मार्शल ललाई आवश्यक कदम भनेका थिए, तर नेसनल एसेम्बलीमा भारी सशस्त्र सैनिकले नाकाबन्दी तोडेपछि उनको आदेश केही घण्टा मात्र चल्यो।
सांसदहरूले डिसेम्बर १४ मा उनलाई महाभियोग लगाएका थिए र जनवरीमा सरकारी अभियोजकहरूले विद्रोहको मास्टरमाइन्डको आरोप लगाए। यसका सजाय मृत्युदण्ड वा आजीवन कारावाससम्म हुनसक्छ। युनमाथि गैरकानूनी रूपमा निजी सुरक्षा बल तैनाथ गर्ने आरोप पनि छ। उनका प्रतिद्वन्द्वी र वर्तमान राष्ट्रपति ली जे म्यङले विशेष अनुसन्धान शुरु गरेका छन् भने युनलाई प्रतिस्थापन गर्दै जुनमा चुनाव भएका थिए।