काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को २०८२/०८३ आर्थिक वर्षका लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको त्रिवि सभाले रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत बजेटलाई पारित गरेको हो। यो बजेट चालु आर्थिक वर्षको तुलनामा ७.४८ प्रतिशतले बढेको हो।

पारित बजेटमध्ये त्रिविको आन्तरिक स्रोतबाट १३ अर्ब ८८ करोड ९३ लाख ७२ हजार (४९.३९%) र नेपाल सरकारबाट १४ अर्ब २३ करोड ६३ लाख ४९ हजार (५०.६१%) प्राप्त हुने अपेक्षा गरिएको छ।
बजेटको ८५.१२ प्रतिशत भाग सञ्चालन खर्चमा र १४.८८ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
नेपाल सरकारले अनुदानस्वरूप १२ अर्ब ८१ करोड ५५ लाख ४१ हजार रुपैयाँ छुट्याए पनि सो रकमले बजेटको आवश्यकता पुरा नहुने देखिएको छ। त्रिविले १ अर्ब ४२ करोड ८ लाख ८ हजार रुपैयाँको अभाव देखाउँदै त्यसलाई व्यवस्थापनका लागि नेपाल सरकारसँग माग गरिएको छ।
रजिस्ट्रार रिजालका अनुसार, महँगी भत्तासहितका शिक्षक तथा कर्मचारीसम्बन्धी खर्च र ग्रेड रकम समावेश नभएकाले थप ६३ करोड रुपैयाँ आवश्यक पर्नेछ। त्यो रकम उपलब्ध नभएमा त्रिविलाई सञ्चालन खर्चमा कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी उनले दिएका छन्।
शिक्षक तथा कर्मचारीको दक्षता अभिवृद्धिका लागि तालिम, सेमिनार र गोष्ठीका लागि १७ करोड ४३ लाख ४० हजार विनियोजन गरिएको छ। अनुसन्धान तथा विकासका लागि ३७ करोड ७ लाख २३ हजार छुट्याइएको छ, जुन कुल बजेटको १.३१ प्रतिशत हो। साथै, सूचना प्रविधिसम्बन्धी प्रशासनिक संयन्त्रको व्यवस्थापनका लागि २ करोड छुट्याइएको छ।



