© २०२३
नवलपरासी पश्चिम्, २६ असार ।
नेपाली काङ्ग्रेसका महामन्त्री विक्रम खनालाई पार्टीले निष्कासन गरेपछि यति बेला नवलपरासी काङ्ग्रेसमा खैलाबैला मच्चिएको छ । जिल्लाको समग्र राजनीतिक वृत्तमा अहिले यही चर्चा भैरहेको छ । खनालमाथि कारबाही भएपछि विनोद चौधरी निकटका व्यक्तिहरुले खुसी व्यक्त गरेका छन भने जिल्लाका अधिकाँश सामान्य काङ्ग्रेस कार्यकर्ताले यसको प्रतिवाद गरेका छन ।
समग्र पार्टीको सुदृढीकरण भन्दा पनि विनोद चौधरीको ईगो हर्टमा खनाललाई कारबाही गरिएको आम कार्यकर्ताको बुझाई छ । संस्थापन पक्षका नेता देवेन्द्र राज कंडेल र विनोद चौधरीको चरम दबाबमा नेता खनालमाथि कारबाहीको डण्डा चलाइएको कार्यकर्ताको ठहर छ ।
खनालमाथीको कारबाहीले जिल्लाका संस्थापन पक्षका नेताहरुले आफ्नो जित भएको महसुस गरेपनि पार्टीका तल्लो तहका कार्यकर्ता भने अबको काङ्ग्रेसको संगठनको मोर्चा र भविष्य कस्तो हुने भन्नेमा कार्यकर्ताले प्रश्न गरेका छ्न । कारबाही भएपनि पार्टीको जनाधार खनालकै पक्षमा रहेको भन्दै कार्यकर्ताहरुले सहानुभूति दिएका छन् । शेखर समूहका नेताहरूले केन्द्रीय समितिमा प्रस्तुत नगरी कारबाही गरिएको भन्दै निर्णय एकलौटी भएको आरोप लगाएका छन ।
पार्टीको केन्द्रीय समितिमा फरक मत राख्दै आएका केन्द्रीय सदस्य दिनेश कोईरालाले समग्र पार्टीको निर्णय भन्दा गुटका हिसाबले पूर्वाग्रही निर्णय आएको बताए । “अनुशासन समितिमा पनि बहुमतले निर्णय गरिएको छैन, ५ जनामा दुई जनाले नोट अफ डिसेन्ट लेखेका छन् त्यसैले यो कारबाही मान्य नहोला, केन्द्रीय समितिमा नै नआई कारबाही हुनु पूर्वाग्रह हो”–कोईरालाले भने । “२१ सय जनाको लिस्टमा ब्यक्ति हेरेर सीमितलाई मात्रै कारबाही गरिएको छ, यो फिर्ता हुनुपर्छ”– कोईरालाको भनाई छ ।
शेखर समूहका नेताहरुलाई मात्रै छानीछानी कारबाही गरिनुले पार्टीको आन्तरिक लोकतन्त्र समेत कमजोर हुने जिल्लाका ईतर समूहका नेताहरूको ठम्याई छ । खनाल समूहका नेता तथा कार्यकर्ताहरुले पैसाको बलमा चौधरीले पार्टी कब्जा गरेको समेत आरोप लगाएका छन् ।
यतिबेला खनालका समर्थक र तल्लो तहका कार्यकर्ताहरुले खनालको समर्थनमा विभिन्न विचारहरु व्यक्त गर्दै सामाजिक संजालमा पोस्ट्याएका छन । केहीले त चौधरीलाई काङ्ग्रेसको समग्र मूल्य कति हो, कतिको बिलो हो भनेर चौधरीलाई काङ्ग्रेसको ठेकेदार बनेको आरोप लगाएका छन् । खनाल समूहबाटै जिल्ला नेतृत्वमा पुगेकाहरु नै आज सशक्त रुपमा बिरोधमा उत्रिएका छ्न ।
“विनोद जीले एउटा ह्विममा चुनाव जित्नु भो, चुनाव जितेपछि उहाँले एक जना कसैलाई काङ्ग्रेस बनाउनु भो ?,आज विक्रमको विरोध गर्नेहरुले छातिमा हात राखेर भनुन काङ्ग्रेसमा विनोद र विक्रमको योगदान तुलना गर्न मिल्छ !” जिल्ला सचिव कुलदिप आचार्यले भने । “उहाँलाई संगठनको चिन्ता छैन उहाँ अवसरबादी हो”– आचार्यले थपे –“आज केही मुठिभर स्वार्थ समूह उनको हो मा हो मिलाइरहेका छ्न उनका पछि काङ्ग्रेसका कार्यकर्ता कति छ्न ?”
“विक्रमको काँधमा चढेर कोही जिल्ला पुगे कोही महासमिति सदस्य बने कोही भातृ संस्थाहरुको अध्यक्ष बने, आज तिनैले विक्रमको टाउकोमा हान्दै छ्न, शक्तिको पछि लागेर सबै भुले”–सचिव आचार्यले भने । “टिकट पाउनु अघिको परिस्थिति अर्कै थियो मनोनयन दर्ता भएपछिको परिस्थिति अर्कै थियो, विक्रमलाई कारबाही हुँदैमा अब पार्टी एक भयो त ! कार्यकर्ता खुसी भए त ?” आचार्यले प्रश्न गरे ।
हिजो विक्रमले तयार बनाएका कार्यकर्ता र नेताको बलमा उहाँले जितेको उनले दावी गरे ।
खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नम्बर १ मा तिनैवटा पालिकामा काङ्ग्रेसले जितेको छ भने पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कंडेलको निर्वाचन क्षेत्रमा सबै पालिका काङ्ग्रेस निल भएको छ भने कंडेल आफै राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग १६ हजार मतान्तरले पराजय भएका हुन् ।
खनाललाई कारबाही गर्न अनुशासन समितिका तीन जनाले हस्ताक्षर गरी पार्टीलाई बुझाएपनि केन्द्रीय समितिमा पेश नभै कारबाही भएको प्रति शेखर समूहले गम्भीर आपत्ति जनाएको छ । खनालमाथि कारबाही भएपछि जिल्ला कार्य समिति र भातृ संस्थाहरुले आकस्मिक बैठक डाकेका छ्न । यता जिल्लाका संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरुले भने जिल्ला कार्य समितिमा खनाल समूहको बर्चस्व रहेकाले खनालले समेत बिगतमा बहुमतको बल देखाएर सस्थापन पक्षलाई पेल्ने गरेको आरोप लगाएका छ्न् । जिल्लाका ईतर समूहका नेताहरुले बिगतमा आफ्नै उम्मेदवार हराउन भूमिका खेल्ने संस्थापन पक्षका अन्य नेताहरुलाई समेत अनुसन्धानको दायरामा ल्याएर समान रुपले कारबाही गर्नु पर्ने बताएका छ्न् ।
“यो कारबाही काङ्ग्रेसमा नजिर हो, हिजो अन्तरघात गर्नेहरु र भोलिका दिनमा निम्तिने यस्ता घटनामा निष्पक्ष कारबाही हुन्छ कि नाई भन्नेमा शङ्का उब्जाएको छ, किनकी बिगतलाई पनि कार्यकर्ताले नजिकबाट हेरेका छ्न”–काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य एवं प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले भने ।
“सचेत गराउनु पथ्र्यो तर ब्यक्तिको पछि लागेर पार्टीले निर्मम निर्णय गर्यो यो दुखद हो”– उनले भने । यता खनाल पक्षका केही नेता भने अदृश्य रुपमा देवेन्द्र राज कंडेल र विनोद चौधरी सँग सन्तुलित सम्बन्ध राख्दै आएको समेत टिकाटिप्पणी हुने गरेको छ । यसमा खनाल समूहकै नेताहरुले समेत असन्तुष्टि जनाउँदै आएको उनी निकट श्रोत बताउँछ ।
“केही नेता यहाँ विक्रम पक्षका छ्न् केन्द्रमा गएपछि देउवाको हुन्छ्न्, फेरि दाउन्ने आउने बेला सम्म विक्रमको हुन्छन्, अहिले त टिम भित्र पनि को कस्को ठम्याउनै गाह्रो छ”–काङ्ग्रेसका एक जिल्ला सदस्यले ठट्यौली शैलीमा भने । “विक्रम जि ले समयमा मान्छे चिन्नु भएन वा सबैलाई अवसर दिउँ भन्ने सोच्नु भो थाहा भएन तर अहिले आफैलाई घातक भो, हामीले सर्पलाई दूध नखुवाउनोस् भनेकै हो”–उनले भने ।
अनुशासन समितिमा शेखर कोईराला समूहकै सन्जय गौतमले उजुरी गर्नुलाई ईतर समूहका नेताले आश्चर्य व्यक्त गरेका छ्न । शेखर कोईराला समूहका विश्वास पात्र मानिएका नेता विक्रम खनाललाई कोईरालाले आउँदो महाधिवेशनमा लुम्बिनी प्रदेशको सभापतिको रुपमा अघि सार्ने भित्री मनसाय रहेकाले कोईराला निकटकै गौतम आन्तरिक रुपमा रुष्ट भएकाले गौतम आफैले कारबाहीको सिफारिस गरेको हुन सक्ने समेत ईतर समूहका केही नेताको दावी छ ।