© २०२३
‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः
(गुरु नै ब्रह्मा हुन, गुरु नै विष्णु हुन । अनि गुरु भनेकै भगवान शंकर हुन, गुरु नै हुन साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।) नेपाली पात्रो अनुसार आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रूपमा मानिन्छ । गुरु एक संस्कृत शब्द हो जसमा गु को अर्थ अन्धकार हो र रु को अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो । त्यसैले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति छर्ने महान व्यक्ति नै गुरु हुन ।
नेपाली संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । हिन्दु संस्कृतिमा वेदको रचयिता कृष्ण द्वैपायनव्यास जन्मेको आषाढ शुक्ल पूर्णिमाको दिनमा गुरुहरूको सम्झना र पूजा गरेर गुरु पूर्णिमा मनाइँदै आएको बिश्वास गरिन्छ । गुरुलाई देवता र पिता समान सम्मान दिने हिन्दु संस्कार र संस्कृति जगजाहेर छ । पौराणिक कालदेखि नै गुरु अर्थात शिक्षकको महिमा अतुलनीय रहंदै आएको कुरा प्रष्ट छ । हामी जुनसुकै दर्शन, धर्म सम्प्रदाय वा मूल्य मान्यतामा विश्वास राख्ने भएपनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्वको महत्व हुन्छ । यो ब्रह्माण्डमा सायद ज्ञानमात्रै यस्तो वस्तु हो, जसलाई जति बाँड्यो त्यति नै बढ्छ । साना नानी बाबुहरूको हातमा कलम समाएर क ख रा सिकाउने र पढाउने गुरुआमा गुरुबाहरूले दिनुभएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना पाएका हौं ।
अधिकांश समस्या र दुविधाहरूको निरोध नै असल गुरुको प्राप्ति र छनोटमा भर पर्छ । तर, अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न अति नै गाह्रो काम भएको छ । वास्तवमा शिक्षकले गर्ने शिक्षण पेशा सेवामुलक पेशा हो ।त र बिडम्बना अहिलेको व्यापारिक युगमा गुरु शिष्यको सम्बन्ध आर्थिक लेनदेनमा सीमित हुन पुगेको छ । यद्यपि यो हाम्रो सनातनीय वैदिक शिक्षा प्रणालीले अंगीकार गरेको होइन । समय यति धेरै परिवर्तन भयो कि यहाँ गुरुहरूले ज्ञान अर्थात् शिक्षा बेच्नुपर्ने र चेलाले शिक्षा किन्नुपर्ने बाध्यता छ । शिक्षा व्यवसायमा रूपान्तरण भएको छ । सायद यसकै कारण होला अहिले गुरु शिष्यबीचको दुरी बढ्दै गएको आभाष हुन्छ ।
विद्वानहरूले शिक्षार्थी अर्थात् विद्यार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएका छन् । एक प्रकृतिवादी शिक्षाशास्त्रीले बालक स्वतन्त्र जन्मिन्छ र उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भनेका थिए । शिक्षकले पथ प्रदर्शकको रूपमा कार्य गर्नुपर्छ । भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले पनि शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन । जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णले भनेका छन्– ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ ।’ भारतकै पूर्व राष्ट्रपति एपीजे अब्दुलकलामका शब्दमा– ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ ।
शिक्षकको बारेमा कहिएका यी शब्दहरूबाट जो कोहीले पनि शिक्षक को हो र यसले के गर्छ भन्ने कुरा सजिलै बुझ्नसक्छ । शिक्षकको बारेमा यो भन्दा बढी व्याख्या गर्नुपर्दैन । यदि देशले साँच्चिकै शिक्षकलाई सकारात्मक रूपमा उत्प्रेरित गराई उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गरिदिने हो भने विकसित राष्ट्रको निर्माण गर्ने सपना साकार हुने देखिन्छ । यसरी समाज तथा राष्ट्रको समग्र विकासमै अग्रणी भूमिका निर्वाह गर्ने शिक्षकको नेपाली समाजमा दर्जा नै छैन भन्दा अत्युक्ति नहोला । वास्तवमा शिक्षक को हो ? उसले के गर्छ ? कसरी शिक्षक बन्न सकिन्छ ? किन शिक्षकले गर्ने शिक्षण पेशालाई सबैभन्दा चुनौतिपूर्ण पेशा भनिन्छ ? भन्ने यथार्थ सबै मानिसहरूले नबुझ्न पनि सक्छन् तर यहाँ बुझेकोले पनि तदनुसार ब्यवहार गर्दैनन् भन्दा त्यति फरक नपर्ला ।
यति भन्दै गर्दा सत्य कुरा के हो भने जसले शिक्षक र शिक्षण पेशालाई उत्कृष्ट पेशा मानी राम्रोसंग बुझेको छ, उसले अन्तरमनदेखि नै शिक्षकलाई सम्झन्छ र सम्मान पनि गर्दछ । मानिस जन्मेपछि विद्यालय नजाँदासम्म शिक्षकको भूमिका बाबु आमाले निर्वाह गर्दछन् भने विद्यालय गइसकेपछि उनीहरूलाई दीक्षित गर्ने कार्य शिक्षकको हुन्छ । बच्चालाई अनुशासित बनाउने , सांस्कारिक बनाउने, सुमार्गमा डोराउने, भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग गर्ने, असल तथा सफल मानिस बन्न प्रेरित गर्ने जस्ता यावत् कुरामा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । गुरुबिना मानिसको जीवन अन्धकार हुन्छ । अन्धकारमा उज्यालो छर्दै प्रत्येक व्यक्तिलाई दीक्षित गरी जीवनको लक्ष्य हासिल गर्न सत्मार्गतिर डोराउने व्यक्ति गुरु हुन् । शिक्षक हुन् । शिक्षक त्यस्ता ब्यक्ति हुन् जो आफु जलेर भएपनि समाजमा ज्ञानको ज्योति फैलाउँछन् । त्यसैले त्यस्ता आदरणीय, सम्माननीय तथा पुज्यनीय महान् व्यक्ति शिक्षकलाई सच्चा मनले नमन गर्नुपर्दछ ।
शिक्षकले नै मानिसलाई ज्ञानको ज्योति प्रदान गर्नुका साथै असल मार्ग बताइदिन्छ । त्यसैले शिक्षकलाई व्यक्तिको पथ पर्दशक पनि भनिन्छ । आफ्नो लक्ष्य हासिल गर्न सफल मानिस वा असफल मानिस, यी दुबैले शिक्षकलाई नै सम्झिन्छन् । सफल मानिसले शिक्षकको राम्रो शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणाको कारणबाट आफू सफल भएकोले शिक्षकलाई बारम्बार सम्झन्छन् । सम्मान गर्दछन् । असफल वा जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको मानिसले पनि शिक्षकको शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणालाई आत्मसाथ गर्न नसकेर आफु असफल भएकोले शिक्षकलाई बारम्बार सम्झिने गर्दछन् । यस्ता मानिसहरू शिक्षकको त्यतिबेलाको मार्गदर्शन जुन अत्यन्तै महत्वपूर्ण थियो, त्यसलाई सम्झेर धेरै पछुताउनुको साथै दुखित हुन्छन् ।
आफ्नो लक्ष्य हासिल गर्न सकेका मानिस सुखी हुन्छन भने लक्ष्य हासिल गर्न नसकेका मानिस दुःखी हुन्छन् । समाजका सुखी तथा दुःखी दुवै तप्काका मानिसले शिक्षकलाई बारम्बार सम्झन्छन् । हामीलाई थाहै छ शिक्षकले विद्यार्थीलाई पढाउने तथा सिकाउने गर्दछन् । विद्यार्थीलाई सक्षम बनाउन अहोरात्र खटिरहन्छन् । त्यसैले शिक्षकले अँगाल्ने शिक्षण पेशा अत्यन्तै मर्यादित पेशा हो । यो पेशा यस्तो पेशा हो यसले सबै पेशालाई जन्माउँछ । त्यसैले शिक्षण पेशालाई अरू सम्पूर्ण पेशाहरूको स्रोत भन्दा फरक नपार्ला । तर, हाम्रो समाजमा यो पेशालाई राम्रो पेशा नमान्ने चलन छ । छोराछोरीको भबिष्य बनाउने शिक्षक हो भन्ने जान्दा जान्दै पनि अभिभावकहरू आफ्ना छोराछोरीलाई समाजको पथप्रदर्शक शिक्षक बनाउन चाहदैनन् । अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विकसित देशहरूमा शिक्षकलाई सबैभन्दा माथिल्लो दर्जा दिइन्छ । किनकी ती राष्ट्रले शिक्षकको भूमिकालाई राम्रोसंग बुझेका छन् । तर बिडम्बनाा शिक्षकको सम्मान गर्ने हेतुले गुरूपुर्णिमा मनाउने हाम्रो देश नेपालमा शिक्षण पेशालाई भने राम्रो नजरले हेरिदैन ।
खासगरी मनन् गर्नुपर्ने कुरा के हो भने ज्ञानको ज्योति छर्दै प्रत्येक व्यक्तिलाई सफलताको सिंढी चढाउँदै समाज निर्माण तथा विकासमा सक्षम एबम् काबिल व्यक्ति बनाउने महान कार्य शिक्षकले नै गरिरहेका छन् र गर्नेछन् । यो कुरा बादल फाटेपछि देखिने दिउँसोको घाम जस्तै छर्लङ्ग छ । यस्तो तथ्य जान्दाजान्दै पनि किन हाम्रो समाजमा शिक्षकले अबलम्बन गर्ने पबित्र शिक्षण पेशालाई उपेक्षा गरिन्छ ? किन शिक्षण पेशालाई उत्कृष्ट पेशामा दर्ज गर्नुपर्दछ भन्ने कुरा राज्यको सम्बन्धित निकायबाट उठान गरिदैंन ? किन नीति निर्माणकर्ताहरू पबित्र पेशामा लागेका शिक्षकहरूलाई उचित सेवा सुबिधा दिदैँ शिक्षण पेशालाई एक सम्मानित पेशा बनाउने गरी नीति नियम बनाउन हिम्मत गर्दैनन् ?
शिक्षालाई व्यावसायीकरण गर्ने वातावरण राज्यले सिर्जना गरेको होइन ? के यो उचित छ ? यहाँ उठान गरिएका बिषयबस्तु नाजायज हुन् ? पक्कै पनि होइनन् । यी सबै जायज मागहरू हुन् । त्यसैले सरकारले यहाँ उठेका यी महत्वपूर्ण बिषयबस्तुलाई हृदयंगम गरी राष्ट्रका मेरुदण्डको रूपमा हेरिने शिक्षकले अंगाल्ने शिक्षण पेशालाई उत्कृष्ट पेशामा समाबेश गर्दै शिक्षकहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातारण सिर्जना गर्नुपर्दछ । यसो गरियो भने मात्र हाम्रो समाजमा गुरुहरू, शिक्षकहरू सम्मानित हुनेछन् र गुरुहरूको सम्मानमा मनाइने गुरु पूर्णिमाले सार्थकता पाउनेछ । अन्यथा गुरूपूर्णिमा फगत एउटा तिथिमा मात्र समेटिनेछ ।