Butwal Today

बच्चाको लागि वरदान बन्दै पोषण पुनर्स्थापना केन्द्र

पछिल्लो समय कम तौलका बच्चा जन्माउने आमाहरूको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । जन्मिदा तौल राम्रै भएपनि स्याहारसुसार, खानपान र पोषणको कमीले धेरैजसो बच्चाहरुको तौल घट्दै गएको छ ।
२५ असार २०८२, बुधबार
अ+
अ-

रुपन्देही, २५ असार ।

रूपन्देहीको देवदह नगरपालिकाकी २१ वर्षीया लीला केवटको ३६ महिनाकी एक छोरी छन् । गर्भवती भएपछि केवट नियमित रूपमा स्वास्थ्य परीक्षणका लागि नजिकैको स्वास्थ्य चौकी गइन् र स्वास्थ्यकर्मीको परामर्श अनुसार पोषणयुक्त खाना पनि खाइन् । उनले स्वास्थ्य चौकीमै ३.५ किलोग्राम तौलको छोरी जन्माइन् । ३.५ किलोग्राम तौलको स्वस्थ छोरी जन्मेपछि निकै खुसी बनेकी केवटले परिवारबाट पनि माया पाइन् । तर, ६ महिनापछि एकाएक छोरीको तौल घट्दै जान थालेपछि उनमा चिन्ता थपियो ।

नजिकैको स्वास्थ्य चौकीमा चेकजाँच गरेपछि पनि सुधार नभएपछि निराश बनेकी केवटलाई अहिले भने केही राहत मिलेको छ । स्वास्थ्य चौकीको सुझावमा अहिले उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा छोरीको उपचार गराउँदै छिन् । ७ किलोग्राम तौल भएकी २६ महिने उनको छोरीको तौल केन्द्रमा आएपछि ८ किलोग्राम पुगेको छ ।

रुपन्देहीकै शुद्धोधन गाउँपालिका वडा नं.२ की २४ वर्षीया कविता सुनार पनि अहिले चार वर्षे छोरीको त्यस्तै समस्या लिएर पुनस्र्थापना केन्द्रमा छिन् । डेढ वर्षीया छोरी छोडेर वैदेशिक रोजगारीमा गएकी सुनार २ वर्षपछि केही दिनअघि मात्र छुट्टीमा नेपाल फर्किएकी छिन् । उनी भन्छिन् –“छोरीकै भविष्यका लागि विदेशिएको तर, यो अवस्था देख्दा साह्रै नराम्रो लाग्यो ।” आफू विदेश रहँदा घरपरिवारले राम्रो स्याहारसुसार नगर्दा छोरीको तौल कम भएकोमा उनी गुनासो गर्छिन् । केन्द्रमा आउँदा १० किलोग्राम तौल भएकी उनको छोरीको तौल अहिले बढेर १० किलो ३०० ग्राम पुगेको छ ।

पछिल्लो समय कम तौलका बच्चा जन्माउने आमाहरूको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । जन्मिदा तौल राम्रै भएपनि स्याहारसुसार, खानपान र पोषणको कमीले धेरैजसो बच्चाहरुको तौल घट्दै गएको छ ।

गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ की २८ वर्षीया प्रजिना थापा पनि एक वर्षकी छोरी लिएर केन्द्रमा छिन् । जन्मिदा साढे दुई किलोग्राम तौल भएको उनको छोरी ६ महिनापछि निरन्तर बिरामी हुने गरेको उनी बताउँछिन् । ज्वरो आउने, पखाला लाग्ने र तौल नबढ्ने समस्या देखिएपछि उनी गुल्मीकै पुर्कोट दह स्वास्थ्य चौकीमा उपचारका लागि गइन् । त्यहाँ उनको समस्या समाधान नभएपछि उनी बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पुगिन् । त्यहाँ पनि उनको समस्या समाधान नभएपछि अहिले लुम्बिनी प्रादेशिक अस्पतालको पोषण पुस्र्थापना केन्द्रमा छिन् । केन्द्रमा आएपछि बच्चाको स्वास्थ्यमा धेरै सुधार भएको उनी बताउँछिन् ।

पोषण पुनस्र्थापना केन्द्र बाल स्वास्थ्य सुधार तथा पोषण सेवा प्राप्तीका लागि देशभरका प्रादेशिक अस्पतालहरुमा सञ्चालित छ । लुम्बिनी प्रदेशमा भने रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल र नेपालगञ्जको भेरी अस्पतालमा पोषण पुनस्र्थापना केन्द्र छ । केन्द्रमा कुपोषणबाट ग्रसित बालबालिकालाई औषधीय उपचार, उचित आहार, सघन हेरचाह र पुनस्र्थापन (आवास) व्यवस्थापनका साथै अभिभावकलाई व्यावहारिक पोषण शिक्षा पनि एकै ठाउँमा दिइन्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको पोषण पुनस्र्थापना केन्द्र वि.सं. २०७१ साल वैशाख २८ गते स्थापना भएको हो । १० शैयाको यस पुनस्र्थापना केन्द्रमा रुपन्देहीसहित लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा, पश्चिम नवलपरासीलगायतका जिल्लाबाट केन्द्रमा आउने गर्छन् । केन्द्रमा कम्तीमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको पोषणसम्बन्धी निःशुल्क उपचार हुन्छ । केन्द्रमा बच्चाको उपचार मात्र होइन राम्रो हेरचाह कसरी गर्ने र पोषण प्राप्तीका लागि के–कस्ता खानेकुरा खुवाउने भन्नेबारे उचित परामर्श समेत दिने गरेको केन्द्रका अहेब देवा ढकाल बताउँछिन् । पछिल्लो समय महिलामा कामको जिम्मेवारी थपिदै गएकाले बच्चालाई समयमा र पोषणयुक्त खाना खुवाउन ध्यान दिन नसक्दा बालबालिकामा कुपोषणको समस्या देखिएको उनको भनाइ छ ।

पुनस्र्थापना केन्द्रका पोषण अधिकृत प्रतिक्षा थापाका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा कुल एक सय ४८ जनाले सेवा लिए भने चालु आर्थिक वर्ष २०८१÷८२ को मध्यअसारसम्म एक सय ४९ जनाले केन्द्रबाट सेवा लिएका छन् । उनी भन्छिन्– “कम समयमा र कम तौलको बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पुग्ने कुरा आफूले जानेपछि अरू महिलालाई सिकाउँदै आएकी छु ।” विशेषगरी कामकाजी महिलाहरुले बच्चालाई समय दिन नसक्ने, खाना खुवाउन जोड नदिने, खाना खुवाउँदा मोबाइल हेर्न दिने, पोषिलो खाना नखुवाउने, बाहिरी पसलको प्याकेट बन्द खानेकुरा र तयारी खानामा जोड दिने बानीले पनि बच्चाहरुमा कुपोषणको समस्या बढ्दै गएको छ ।”

केन्द्रमा आएका अधिकांश अभिभावकले यहाँ आएपछि आफूहरुले बच्चाको स्याहारसुसारका साथै सन्तुलित र पोषण्युक्त खाना कसरी दिन सकिन्छ भन्नेबारे राम्रो ज्ञान पाएको बताएका छन् । यसरी अस्पतालमा सञ्चालित पोषण पुनस्र्थापना केन्द्र कुपोषणका शिकार बनेका बालबालिकाका लागि वरदान साबित भएको छ । तर, यहाँ बालबालिकाको निःशुल्क उपचार हुन्छ भन्नेबारे भने अझै पनि कतिपयलाई जानकारी नै छैन । केन्द्रमा आएका अधिकांश अभिभावकले गाउँघरको स्वास्थ्य चौकीबाट नै यसबारे थाहा भएको बताउँछन् । हेलेन केयर र सेतो गुराँस परियोजनाले पनि पोषण पुनस्र्थापना केन्द्रमा पाइने निशुल्क स्वास्थ्य सेवा र परामर्शबारे गाउँस्तरमा केही प्रचार प्रसार गरेको छ । अहिले कुपोषणको समस्या बढ्दै गएको अवस्थामा केन्द्रबाट दिइने निःशुल्क उपचार र परामर्शबारेको प्रचार प्रसारका लागि सरोकारवालाको ध्यान गएको छैन ।