काठमाडौँ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीले १ वर्षका लागि निष्काशन गरेको छ। असार १७ गते बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको ठहर गर्दै खनालमाथि कारबाही गरेको हो।

नवलपरासीका खनालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनलाई कारबाही गरिएको समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।
उनका अनुसार उजुरी परेपछि खनाललाई स्पष्टीकरण सोधिएको थियो। तर खनालको जवाफ चित्तबुझ्दो नदेखिएकाले प्राप्त प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०२७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र (ङ) अनुसार उनलाई पार्टी सदस्यबाट १ वर्षका लागि निष्काशन गर्ने निर्णय गरिएको हो।
अनुशासन समितिले उक्त निर्णयबारे पार्टी सभापति शेरबहादुर देउवा, लुम्बिनी प्रदेश समितिलगायत सम्बन्धित जिल्लामा बोदार्थ पत्र पठाइसकेको जनाएको छ। पार्टीको अनुशासन उल्लङ्घन गर्ने विरुद्धमा पछिल्ला दिनहरूमा कांग्रेसले कडाइ गरेको देखिएको छ।




