© २०२३
काठमाडौँ ।
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न स्पेन भ्रमणमा सहभागी भएका प्रतिनिधिमण्डलका सदस्यहरूमध्ये को-को नेपाल फर्किएका छैनन् भन्ने विषयमा स्पष्ट जानकारी दिन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका विषयहरूमा प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिक प्रकृतिको हुने हुँदा त्यसमा सहभागी हुने व्यक्तिको नाम मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जाने प्रावधान रहेको उल्लेख गरे।
“प्रधानमन्त्री स्पेनको भ्रमणमा जानुभयो, उहाँसँग गएका मान्छे उतै गए भन्ने पनि कुरा उठेको छ,” उनले भने, “हामीले कुनै पनि कुराको न्यूनतम जानकारी राख्नुपर्छ र सदनमा अत्यन्त जिम्मेवार भएर मर्यादित रूपमा कुरा राख्दा राम्रो हुन्छ।”
गृहमन्त्री लेखकले थप भने, “माननीयले को-को जानुभयो, को फर्किनुभएन भन्ने जानकारी दिनुभयो भने सरकारलाई त्यसबारे बुझ्न सजिलो हुन्छ।”
यसअघि मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सो विषय संसद्मा उठाएकी थिइन्। बुधबारको बैठकमा उनले प्रस्ट पार्दै भनिन्, “मैले प्रधानमन्त्रीसँग गएकामध्ये कोही नफर्किएको भनेर भनेको होइन, तर त्यही कार्यक्रममा गएका धेरै नेपाली अहिले पनि उतै छन् भन्ने जानकारी आएको छ।”
सांसद गौतमको उक्त अभिव्यक्तिपछि सरकार र संसद्मा स्पेन भ्रमणका सहभागी र उनीहरूको स्थिति स्पष्ट पार्न माग चुलिएको छ।