© २०२३
दाङ,२५ असार ।
दाङको घोराही उपमहानगरपालिका–१५ बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका(३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय विकले अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सीनाले जानकारी दिए ।
वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी नायब निरीक्षक सुरज सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले अजय बिक सुत्ने खाटमुनि राखिएको कालो रंगको जोर्डन लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ० दशमलव ३२ बोर क्षमताको एउटा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने चारवटा गोली र सात राउन्ड क्षमताको एउटा म्यागजिन फेला पारेको हो ।
प्रहरीले ती हतियारसहित अजय बिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।