© २०२३
सुनवल, २५ असार ।
निरन्तरको वर्षापछि सडक भासिँदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ । बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका वडा नम्बर चार खुर्सानी खोलामा आज बिहानपख तिन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो । अहिले भासिएको स्थानमा माटो भरेर एकतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी) वीरदत्त पन्तले जानकारी दिनुभयो । सडक भासिने क्रममा फसेको लु १ ख ५८२७ नम्बरको एउटा मालवाहक ट्रक तानेर हटाइएको छ ।
पूर्ण रुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ । गत वर्ष पनि सोही स्थानमा सडक भासिँदा दुई दिन सम्म राजमार्ग सुचारु हुन सकेको थिएन । गत वर्ष पहिरोले भासिएको सडक मर्मत गरेर सुचारु गरिएको भए पनि यस वर्ष पानी पर्न थालेपछि सोही स्थानमा फेरि सडक भासिएको हो । नारायणगढ बुटवल सडक खण्डमा पानी पर्ने बित्तिकै सडक भासिने, पहिरो खस्ने र सडक चिप्लो हुने समस्याले पटक पटक यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ ।