काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. खड्क केसीलाई पत्राचार गरेर २६ गते सिनेट बस्ने जानकारी गराएका थिए। सोही आधारमा त्रिविले आवश्यक तयारी पूरा गरेको छ। तर, सभा सीमित सिनेट सदस्यहरूको उपस्थितिमा हुने देखिएको छ।
त्रिवि कार्यकारी परिषद्ले नियुक्त गर्नुपर्ने विद्यार्थी प्रतिनिधिहरू अहिलेसम्म नियुक्त गर्न सकेको छैन। त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले विद्यार्थीको प्रतिनिधित्वबिना सभा बोलाइएको बताए। दुई दिन अघि एजेन्डासहित जानकारी गराउनुपर्ने र विद्यार्थी प्रतिनिधिहरू नियुक्त हुनुपर्ने भए पनि अहिलेसम्म कुनै पहल नभएको उनको भनाइ छ।
कार्यकारी परिषद्ले विद्यार्थी, उद्योग व्यवसायी लगायतका तर्फबाट १० जना सदस्य नियुक्त गर्नुपर्ने हुन्छ। तर अहिलेसम्म सम्बन्धित पक्षहरूलाई कुनै जानकारी प्राप्त नभएको जोशीले बताए। उनले प्रधानमन्त्रीको कब्जामा त्रिवि परेको भन्दै विद्यार्थीको प्रतिनिधित्वबिना सभा बस्न नहुने बताएका छन्।
यसअघि असार २२ गतेका लागि राखिएको त्रिवि सभालाई प्रधानमन्त्रीकै निर्देशनमा स्थगित गरिएको थियो। त्यो दिन प्रधानमन्त्री ओली पुल उद्घाटनका लागि हुम्ला गएका थिए। यसपटक अधिकांश विश्वविद्यालयको सभा बालुवाटारमै बोलाउने योजना छ।




