© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले खेलकुद क्षेत्रप्रति पर्याप्त ध्यान दिएको दाबी गर्दै अहिलेको अवस्थामा नेपाली खेलाडीहरू खेलेरै जीविका चलाउन सक्ने परिस्थिति निर्माण भएको बताएका छन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज आयोजित एक कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले विगतमा व्यावसायिक खेलाडी बन्ने सम्भावना कमजोर भए पनि अहिले समर्पित रूपमा खेल जीवन अपनाउन सकिने स्थिति निर्माण भएको बताए।
“पहिला पूर्ण रूपमा खेलमै समर्पित हुन कठिन थियो, तर अहिले त्यो सम्भव छ,” प्रधानमन्त्रीले भने, “सरकारको ध्यान खेल क्षेत्रमा छ, खेलकुद अब केवल शौक होइन, पेशा बन्ने बाटोमा छ।”
उनका अनुसार नेपालले संगठित रूपमा खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नहुँदा पनि पछिल्लो समय उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। प्रधानमन्त्रीले खेलकुदले देशको प्रतिष्ठा बढाउने माध्यम भएको उल्लेख गर्दै सरकार निरन्तर रुपमा खेल पूर्वाधार, तालिम र प्रोत्साहनमा लगानी गरिरहेकाले भविष्य अझै उज्ज्वल हुने विश्वास व्यक्त गरे।